Logo

अर्थ

कुमारी बैंकको मोबाइल बैंकिङमार्फत अब अन्तर्राष्ट्रिय ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सेवा



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गरेको छ ।

उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ ।

यससँगै कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय ई–सिम डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) का लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार विदेश भ्रमण गर्ने, उच्च शिक्षाका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा व्यावसायिक प्रयोजनले नियमित विदेश आवतजावत गर्ने नेपालीका लागि यो सेवा विशेष रूपमा उपयोगी हुनेछ ।

विदेश यात्राका क्रममा इन्टरनेट पहुँच र आवश्यक कागजातको व्यवस्थापनलाई सहज बनाउन यो सेवा ल्याइएको बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय डेटा सेवामार्फत विदेश पुगेपछि स्थानीय सिमकार्ड खरिद वा परिवर्तन गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाले आवेदन प्रक्रियालाई सरल, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

यस सेवाको अर्को विशेषता भनेको ग्राहकले अन्तर्राष्ट्रिय डेटा सेवा र अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा हो । यसले विदेशी मुद्रामा भुक्तानी गर्ने वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने बैंकको विश्वास छ ।

कुमारी बैंकले प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

हाल बैंकले देशभर २८५ शाखा, ४१ वटा विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकका अनुसार निम्बजसँगको यो सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा सहज पहुँच दिलाउने, डिजिटल समावेशीकरणलाई थप मजबुत बनाउने तथा विदेश यात्रा, अध्ययन, रोजगारी र व्यवसायका लागि आवश्यक सेवाहरू एउटै डिजिटल माध्यमबाट उपलब्ध गराएर ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १७:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।