Logo

राजनीति

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप



काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।

गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो ।

समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको छ । आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

मन्त्रालयले सुनसरीलगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ ।

यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको छ ।

मन्त्रालयले उक्त क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ । मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको छ ।

मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार २०:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।