नेपाल भन्ने देश भनिरहदा नेपालीले गर्व गरेर भन्ने कुरा “सगरमाथाको देश” भन्नुहुन्छ। संसारकै १० अग्लो हिमाल मध्ये ८ वटा नेपालमा नै पर्छ। गीतहरुमा पनि नेपालको पहिचान गराउदा “हिमालचुली मुन्तिर पानी भर्ने पधेरो” भनी चिनाइन्छ। “हिमाल नै हिमालको हाम्रो देश” लाई जलश्रोतको दोश्रो धनी देश भनिरहदा यहाँ साच्चै धेरै पानी छ भनेको हैन, नत्र त नेपालको सबै खोला बगेर भारत नै जाने हो, धनी त भारत हुन्थ्यो होला, हामीसँग हिमाल छ, हिमालको हिउँ पनि पानीकै श्रोत हो भनेर दोश्रो धनी देश भनिएको हो।
सालभरि फेरिने १२ महिना जस्तै श्रावण महिनाको पनि आफ्नै विशेष महत्त्व छ। यो वर्षाको महिना हो। श्रावणको महिनामा परेको पानी पनि स्वयम् नै एक विशेष वस्तु जस्तै थियो। मलाई याद छ, वातावरण कानुनको शिक्षकले भन्नुहुन्थ्यो कि साउनमा परेको पानी जब खरको छानोबाट झरेर आउथ्यो, त्यो पानी जम्मा गरेर नुहाउदा घमौरा ठिक भएर जान्थ्यो रे। “वर्षा नै हो साउन भदौ, पानी पानी हुन्छ” जस्ता कविता र “बादल वर्षा बिजुली, साउनको पानी” जस्ता गीतले पनि बताउछ कि साउनको पानी निकै विशेष थियो। यद्यपि, श्रावणको पानीमा कति आँशु पनि मिसिएर पो आएको छ कि?
प्रकृतिको कुरा गर्दा प्रकृतिमा सबैकुरा एक चक्रको रुपमा रहेको छ। आकासबाट परेको पानी खोलामा मिसिन्छ, समुद्रसम्म पुग्छ, त्यही पानी बाफ बनेर बादल बन्छ र फेरी पानी बनेर झर्छ, यो विज्ञान हो र यहीं कुरा गोपालप्रसाद रिमालको “तिमी को” भन्ने कवितामा पनि लेखिएको छ। एकदिन मेरी हजुरआमाले भन्नु हुन्थ्यो, “तिमीहरु कति भाग्यमानी छौ, हाम्रो पालामा कसरी पाउनु यत्रो सेवा सुविधा?” अनि मेरो जवाफ थियो, “हरेक कुरा एउटा मूल्य चुकाएर आउछ, हामीले पाएको सेवा सुविधामा धेरै जसो त स्वच्छ हावामा सास फेर्ने सुविधा, शुद्ध पानी पिउन पाउने अधिकार, किरा मार्ने दबाई नहालेको खाना खान पाउने सुविधा त्यागेर आएको छ नि त, तपाईको जमानाको हावामा सास फेर्न पाए त म आफैलाई अझै भाग्यमानी मान्थे नि आमा” भनेर। तर सोच्छु, पानी त परिरहेकै थियो, विपत्ति चै किन अझै बढ्दै गयो त?
“मानव चेतनशील प्राणी हो” भन्ने वाक्य विद्यालयको पाठ्यपुस्तक मध्ये नेपाली र सामाजिक अध्ययन विषयमा लेखिएको हुन्थ्यो। उसले विवेक प्रयोग गरेर सही र गलत छुट्ट्याउन सक्छ भनी चिनिन्छ। तसर्थ, मानवले आफ्नो कार्यमा नियन्त्रण प्राप्त गर्न सक्छ भनी बुझ्नपर्छ। मानवले विभिन्न काम गरेर आफ्नो काम सहज बनाउन कोसिस गरिरहेको छ, उसले त्यसलाई विकास भन्दछ। त्यो विकासको काम अघि बढाउन प्राय मूल्य चुकाउने वातावरण नै हुन्छ। बाटो बढाउन पर्यो, पहाड फुटाउन पर्छ, कसरी? बम पड्काएर- अर्थात, हावा प्रदुषित भयो। संरचना बनाउन पर्यो, के गर्ने? रुख काट्ने, हावा बिग्रियो, जैविक विभिदतामा असर पर्यो, चरा चुरुङ्गीको बास उठ्यो। इन्टरनेटको रेडियसनले चराहरु बिलाउदै गएका छन्।
अब कुरा वातावरणको गर्दा वातावरण एक वस्तुको हैन, सबै प्राणीको साझा सम्पत्ति हो। हरेक वस्तु यसमा नै भर परेका हुन्छन्।
मानवता भएको कारण मानव भनिने गरेका प्राणीले अब भने आफ्नो क्रियाकलापलाई मध्यनजर गर्ने बेला आइसक्यो। यद्यपि, विकास नै नगर्ने भन्न मिल्छ र ? “तिमीले आफूले पनि त यहाँ लेख लेख्न बिजुली, ल्याप्टप र इन्टरनेट प्रयोग गरेकी छौ, तिमी पनि त कलेज जादा बाइक प्रयोग गर्छौ” आदि भन्ने तर्क यहाँ आउन सक्छ। हो, विकासलाई नकारेको छैन, विकास जरुरी छ, तर दिगो विकास अवलम्बन गर्न त कानुनले नै भनेको छ नि। अबको विकासको परियोजना कार्यन्वयन हुदा वातावरण आफ्नै हो भनी सम्झिएर कानुनको उचित कार्यन्वयन गर्नुहोला। अब वातावरण मुल्याङकन प्रतिवेदन तयार गर्दा सही तरिकाले अध्ययन गर्नुहोला । अब हामीले स्व- विवेक प्रयोग गरेर पनि कार्य गरौँ न है।
अब विरुवा देखेपछि पानी हाल्न सम्झिउ न है? अब खाली भाडोमा चरा चुरुङ्गॆको लागि पानी छुट्ट्याउन थालौं न है? अब अहिले जति मोबाइल र ल्याप्टप चलाउछौँ, त्यो भन्दा ५ मिनेट कम चलाउन थालौं न है? अब च्याटजिपिटिलाई एउटा कम प्रम्प्ट दिने बानी बसालौ न है? अब अहिले खाने गरेको चुरोटभन्दा एउटा चुरोट कम खान थाल्नु न है? जन्मदिन मनाएको एक दिन एउटा रुख रोप्न थालौं न है? यो सबै गरेर के हुन्छ त? खै, एउटाले गरे पो केही नहोला त, १०० जनाले गरे एउटा चरा धेरै बाच्ला, एक थोपा पानी कम प्रदुषित होला, एकपटक फेरेको सास स्वच्छ भएर एकजना पो कम बिरामी होला त। यति एउटा कुरा गरे त हिमालको हिउँ कम पग्लिन्थ्यो होला, एक दिन बढी भएपनि “सगरमाथाको देश नेपाल” भन्न पाइन्थ्यो कि।
श्रावणको महिनामा परेको पानीमा रोइरहेको हिमालको आँशु भएपनि नभएपनि तेजाब भने छ है। हामीले पानीमा नमिसाएको कुरा छैन। तसर्थ, अबको मेहेनत त्यो पानीलाई स्वच्छ बनाउन लाग्न पर्छ। पृथ्वीको पाँच तत्व निकै जरुरी छ। यहीं कारण होला नि राम शाहले थिति बन्देजमा रुख नकाट्न भन्नुभएको, रुख काटे पानीको मुहान सुक्छ भनेर। यहीं कारणले होला नि २०२१ सालमा आएको भूमि सम्बन्धी ऐनले वातावरण संरक्षणलाई पनि एउटा उद्देश्य बनाएको। यहीं कारण होला नि, वेदमा “सर्वे भवन्तु सुखिन:” लेखिएको, “माता धर्ती: पुत्रोहम: पृथ्वी:” लेखिएको। यहीं कारण होला किरात सभ्यताले प्रकृतिलाई पूजेको, थारु सभ्यताले जंगलको संरक्षण गरेको र नेवा: सभ्यताले सिथि नखः.को दिन पानीको मुहान सफा गरेको।
अर्थात, हाम्रो देशको संस्कृति नै वातावरणको संरक्षण गर्ने रहेको छ। हाम्रो चेतनाले बुझेको छ: हाम्रो कारणले प्रकृति हैन, प्रकृतिको कारणले हाम्रो अस्तित्व छ, हाम्रो जीवन छ।
आज हिमाल रोहिरहेको छ: तर जलवायु परिवर्तन मानवले निम्त्याएको हो, त्यसलाई मानवले नै नियन्त्रण गरी मानवताको उदाहरण बन्नुपर्छ। बाराक ओबामाले भने जस्तै: हामी जलवायु परिवर्तनको सबै असर देख्ने पहिलो पुस्ता र यसलाई कम गर्न सक्ने अन्तिम पुस्ता हौँ। तसर्थ, अब प्रकृतिको सम्मान गर्ने बेला आइसक्यो।




















प्रतिक्रिया