Logo

खेलकुद

एकपटकको नेता, सधैं नेता: रोहितलाई क्यानको भावुक बिदाइ



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेको उल्लेख गरेको छ । रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षण सिर्जना गरेको क्यानले जनाएको छ ।

क्यानले टोली, देश र क्रिकेटप्रतिको रोहितको प्रतिबद्धता सधैं प्रेरणादायी रहेको उल्लेख गरेको छ । कप्तानीबाट अलग भए पनि उनले आगामी दिनमा पनि उस्तै भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटमा योगदान दिने विश्वास क्यानले व्यक्त गरेको छ ।

‘तपाईंको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धि हासिल ग¥यौं र नेपाली क्रिकेट यात्राको गौरवपूर्ण हिस्सा बन्ने क्षणहरू सिर्जना ग¥यौं,‘ क्यानले भनेको छ । क्यानले रोहितको नेतृत्वलाई केवल कप्तानीको भूमिकामा सीमित नगरी नेपाली क्रिकेटप्रतिको उनको समग्र योगदानका रूपमा मूल्यांकन गरेको छ । राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा उनले देखाएको प्रतिबद्धता र समर्पणलाई क्यानले प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ ।

क्यानले आफ्नो सन्देशको अन्त्यमा ‘एकपटकको नेता, सधैं नेता’ भन्दै रोहितप्रतिको सम्मान व्यक्त गरेको छ ।

रोहितले लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनको कप्तानीमा नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिजमा प्रतिस्पर्धा गर्दै नेपाली क्रिकेटको पहिचानलाई थप बलियो बनाएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १३:३६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।