Logo

समाचार

बाराको होटलमा च’क्कु प्रहार गरी एक जनाको ह’ त्या



बारा । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित एक होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब साढे ५ बजे सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो। जितपुर सिमरा–१६ का २२ वर्षीय आयुष राईले खड्काको घाँटीमा चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ६:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका राईलाई प्रहरीले शनिबार राति करिब १० बजे जितपुर सिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको हो। उनी त्यहाँ लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी घर भई हाल जितपुर सिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुर सिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना र २३ वर्षीय रत्न पाख्रिन तामाङ छन्।

त्यस्तै, जितपुर सिमरा–१६ की ४३ वर्षीया शान्ति राई र ४० वर्षीया सिता थापामगर पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी मिनबहादुर घलेका अनुसार पक्राउ परेका ६ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

उनीहरूलाई बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरामार्फत घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १८:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।