Logo

बैंकिङ

लक्ष्मी सनराइज बैंकका प्रबन्धकलाई पक्राउ गर्न अदालतको अनुमति



काठमाडौं ।ऋणीको सम्पत्ति धितोबन्धक राखेर कर्जा स्वीकृत गरे पनि रकम उपलब्ध नगराएको आरोपमा लक्ष्मी सनराइज बैंकका तत्कालीन नायब प्रबन्धक केदार सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पर्सा जिल्ला अदालतले तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनका नायब प्रबन्धक रवीन्द्र केसीलाई पक्राउ गर्न अनुमति दिएको हो।

अञ्जली इन्टरनेसनलले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालय, पर्साले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोग दर्ता गरेको हो।

अभियोगपत्रअनुसार तत्कालीन सनराइज बैंकले २०८० वैशाख ५ मा अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत गरेको थियो। कर्जाको सुरक्षणका लागि ८९ लाख रुपैयाँ बराबरको जग्गा धितोबन्धक राखिए पनि स्वीकृत कर्जा रकम उपलब्ध नगराइएको जाहेरीकर्ताको दाबी छ।

मुद्दा दर्ता भएपछि लक्ष्मी सनराइज बैंकका केदार सिंह निलम्बनमा परेका छन्। धितो लिएर कर्जा स्वीकृत गरे पनि रकम उपलब्ध नगराएको आरोपमा बैंकका उच्च अधिकारीहरूविरुद्ध नै फौजदारी अभियोग अघि बढेपछि यो प्रकरण थप चर्चामा आएको छ।

यद्यपि आरोप पुष्टि भएको वा नभएको विषय अदालतको न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ।

 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार २१:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।