काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न लक्षित वर्गका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने यस्ता कर्जामा ब्याज, बीमाशुल्क र सुरक्षण शुल्कमा अनुदान उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाले अन्य कर्जामा लिने दरभन्दा कम हुन्छ। यसका साथै शुल्कमा छुट, लामो ग्रेस अवधि र कर्जा भुक्तानीका लागि पर्याप्त समयको व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत अधिकतम ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लिन सकिन्छ। महिला उद्यमशील कर्जाको सीमा भने २५ लाख रुपैयाँसम्म छ।
वैदेशिक रोजगारीबाट फर्केका युवा स्वरोजगार कर्जा र शिक्षित युवा परियोजना कर्जा २० लाख रुपैयाँसम्म उपलब्ध हुनेछ। दलित समुदायअन्तर्गत सञ्चालित उद्यम विकास कर्जाको सीमा पनि २० लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, स्टार्टअप उद्यम कर्जामा २५ लाख रुपैयाँसम्म र उद्योगमा बोइलर प्रतिस्थापन कर्जामा ५० लाख रुपैयाँसम्म लिन सकिने व्यवस्था छ। प्राकृतिक विपद्बाट पीडितका लागि निजी आवास निर्माण कर्जाको सीमा ५ लाख रुपैयाँसम्म छ।
जनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई लक्षित स्वरोजगार उद्यम कर्जाअन्तर्गत भने १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यस्तो सहुलियतपूर्ण कर्जा २०८७ असार मसान्तसम्म मात्र प्रदान गरिनेछ। एकाघर परिवारका एकभन्दा बढी सदस्यलाई यस्तो कर्जा उपलब्ध गराइने छैन। कर्जाको किस्ता आवधिक रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
सहुलियतपूर्ण कर्जासम्बन्धी थप जानकारीका लागि नजिकको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।




















प्रतिक्रिया