काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले जारी गरेको विवरण अनुसार तारकेश्वर नगरपालिका–११ स्थित आराध्या मसला तथा किराना पसललाई २० हजार रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका–१० स्थित जोशी किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, बुढानिलकण्ठ–१० कै सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यसैगरी, लाजिम्पाटस्थित कुरीलो प्रा.लि., चावहिलस्थित अस्केटचा र नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमन गरिएका अन्य २१ वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी सच्याउन निर्देशन दिइएको छ । सामान्य निर्देशन पाउनेहरूमा भाटभटेनी सुपरमार्केट (मध्यपुर थिमी शाखा), खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू रहेका छन् ।
विभागले चाडपर्व तथा नियमित बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता हितविपरीत काम गर्ने फर्म तथा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई निरन्तरता दिएको जनाएको छ ।




















प्रतिक्रिया