Logo

अर्थ

बाढी प्रभावित व्यवसायीका लागि साँवा–ब्याज तिर्ने समय थपियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा–ब्याज भुक्तानी गर्ने समय तीन महिना थप गरेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सुविधा हालै गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यवसायीले समेत पाउनेछन्।

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै असोज मसान्तसम्म भुक्तानी गर्नुपर्ने कर्जाको किस्ता तिर्ने अवधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरेको छ।

सर्कुलरअनुसार बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना तथा व्यवसायलाई यो सुविधा उपलब्ध हुनेछ। त्यस्तै, रसुवा भन्सार नाकाबाट कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको आयात–निर्यातमा निर्भर व्यवसाय र बाढी प्रभावित क्षेत्रमा रहेका ऋणीसमेत यसमा समेटिनेछन्।

तर, किस्ता भुक्तानीको समय थप गर्नुअघि बैंक तथा वित्तीय संस्थाले ऋणीको वास्तविक वित्तीय अवस्था विश्लेषण गर्नुपर्नेछ। यस क्रममा बिक्री तथा आम्दानी, नगद प्रवाह, मौज्दात रकम, आयात–निर्यातमा परेको असर र कर्जाको सदुपयोगितालगायत पक्षलाई आधार बनाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बाढीका कारण आम्दानी तथा नगद प्रवाह प्रभावित भई तोकिएको समयमा किस्ता तिर्न कठिनाइ भएका ऋणीको हकमा मात्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले भुक्तानी अवधि थप गर्न सक्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार २०:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।