काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने समय थप गरेको छ। कम्पनीले कात्तिक ११ गतेदेखि खुला गरेको आईपीओमा अब स्थानीय बासिन्दाले मंसिर १० गतेसम्म आवेदन दिन सक्ने भएका छन्।
कम्पनीका अनुसार मागभन्दा बढी आवेदन परेको अवस्थामा भने तोकिएको समयअगावै सूचना प्रकाशित गरी निष्कासन बन्द गर्न सकिनेछ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएको हो।
निष्कासन गरिएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यो सेयर दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाले पाउनेछन्।
बाँकी ६ लाख ७६ हजार कित्ता सेयर भने ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।





















प्रतिक्रिया