Logo

विविध

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो



मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार साँझ करिब ४ः४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनापछि उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएका तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिप चालक ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित प्रहरी सुरक्षा गार्डबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थलबाट मृतक तथा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो ।

उक्त जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले मादक पदार्थ सेवन गरे/नगरेको लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।