Logo

प्रमुख समाचार

देशभित्र सरकार, विदेशमा मन्त्री र सांसद ! ३२ जना देशबाहिर, कहाँ छन् कुन दलका नेता ?



काठमाडौं। देशको शासनसत्ता सम्हाल्ने मन्त्रीदेखि सांसदसम्म अहिले विभिन्न देशको भ्रमणमा छन्।

प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मात्रै ३२ जना मन्त्री तथा सांसद देशबाहिर रहेका छन्। कोही अन्तर्राष्ट्रिय सम्मेलनमा, कोही संसदीय कार्यक्रममा त कोही द्विपक्षीय भ्रमणका क्रममा विदेशमा छन्।

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्सको दुबईमा छन्। यस्तै, टर्कीको अन्ताल्यामा भइरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन मन्त्री तथा सांसदहरूको टोली टर्की पुगेको छ।

टर्कीमा परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किसकेका छन् भने कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, शिक्षामन्त्री सस्मित पोखरेल र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी भएका छन्। अर्थमन्त्री स्वदेश फर्कने क्रममा छन्। स्वास्थ्यमन्त्री निशा मेहता पनि श्रीलंका हुँदै स्वदेश फर्किसकेकी छन्।

यसैगरी सांसदहरू अशोककुमार चौधरी, आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की, कमल सुवेदी र सागर ढकाल पनि विभिन्न भ्रमण तथा कार्यक्रममा देशबाहिर छन्। राम लामा र सागर ढकाल चीन प्रस्थान गरिसकेका छन्।

चीनमा रास्वपाका २० जना नेता तथा सांसद पुगेका छन्। उनीहरूमा विपिनकुमार आचार्य, हरि ढकाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।

त्यस्तै, एसियाली महिला सांसद ककसको कार्यक्रममा सहभागी हुन रञ्जु दर्शना र शोभा खनाल मलेसियामा छन्। सांसद डा. तोसिमा कार्की फिलिपिन्सको मनिलामा छिन्।

मन्त्री र सांसदहरू विदेश भ्रमणमा रहँदा स्वाभाविक रूपमा प्रश्न उठेको छ—देशको नीति निर्माण र जनताका दैनिक समस्याको सम्बोधन गर्ने जिम्मेवारी कसले सम्हालिरहेको छ?

अन्तर्राष्ट्रिय भ्रमण आवश्यक हुन सक्छन्, तर एकैपटक ठूलो संख्यामा जनप्रतिनिधि विदेशमा हुँदा सरकारको कामकारबाही र संसद्को प्रभावकारितामा कस्तो असर पर्छ?

देशभित्रैबाट चल्नुपर्ने शासन व्यवस्था विदेशबाटै चलाउन खोजिएको त होइन?

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।