Logo

समाचार

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर



मुगु । मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापा र उनकी श्रीमती अन्जु थापालाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए ।

डीएसपी थपलियाका अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पतालमा रेफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । उनीहरू रारा ताल घुम्नका लागि मुगु आएका थिए ।

दुर्घटनापछि घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेना र सम्बन्धित निकायले समन्वय गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।