काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिँदै वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएका छन्। उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि बैंक व्यवस्थापनलाई आग्रह गरेका छन्।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको सोमबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकले वित्तीय सुशासन, पारदर्शिता र संस्थागत जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
नेपालको बैंकिङ क्षेत्रको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बैंकले सुशासनका उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ग्राहकलाई सरल र सहज सेवा दिनुपर्ने उनको भनाइ थियो। सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे।
बैंकका कामकारबाही पारदर्शी बनाउँदै जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्यांकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने वाग्लेले बताए।
डिजिटल बैंकिङ विस्तार, लघु, साना तथा मझौला उद्यममा वित्तीय पहुँच वृद्धि, हरित अर्थतन्त्र प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ सेवाको सुरुआतसँगै स्थापित बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताए। मुलुकको औद्योगिक तथा व्यापारिक गतिविधिको विकास र विस्तारमा समेत बैंकको भूमिका उल्लेखनीय रहेको उनको भनाइ थियो।
पाण्डेयका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकमा चार खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा प्रवाह दुई खर्ब ६२ अर्ब रुपैयाँ छ। बैंकको निष्क्रिय कर्जा अनुपात ४।१८ प्रतिशत रहेको उनले जानकारी दिए।
बैंकका ग्राहक संख्या २९ लाख २४ हजार पुगेको छ भने कर्मचारी संख्या तीन हजार ६०० छ। बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको छ। हाल बैंकका २५० एटीएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १० लाख पुगेको पाण्डेयले बताए।





















प्रतिक्रिया