Logo

अन्तर्राष्ट्रिय

इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने



काठमाडौं । इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भएपनि मध्यपूर्वमा दीर्घकालीन सैन्य प्रतिबद्धता राख्ने अमेरिकी योजना नरहेको स्पष्ट पारेका हुन् ।

सोमबार फक्स न्युजसँग कुरा गर्दै भान्सले अमेरिका १० वा १५ वर्ष मात्र नभई दुई वर्षसम्म पनि इरानसँगको द्वन्द्वमा संलग्न भएर बस्न नचाहेको बताएका हुन् । ‘इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा हो । तर हामी यसलाई १० वा १५ वर्षको प्रतिबद्धता बनाउन दिने छैनौँ । वास्तवमा दुई वर्षसम्म पनि यसमा अल्झिने हाम्रो योजना छैन,’ उनले भने ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वलाई अनुकूल परिणामसहित अन्त्य गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले बहराइनमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । सोमबार बहराइनका विदेशमन्त्री अब्दुललतिफ बिन रसिद अल जायनीसँग टेलिफोन वार्ता गर्दै रुबियोले बहराइन र खाडी क्षेत्रका साझेदार राष्ट्रहरूको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता दोहो¥याएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा रुबियोले इरानको आक्रमणको निन्दा गर्दै बहराइनसहित खाडी क्षेत्रका साझेदारहरूको सुरक्षामा अमेरिका प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । वार्ताका क्रममा दुवै पक्षले अमेरिका र बहराइनबीचको दीर्घकालीन रणनीतिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बहराइनलाई प्रमुख गैरनेटो सहयोगी राष्ट्रको मान्यता दिइएको तथा व्यापक सुरक्षा एकीकरण र समृद्धि सम्झौता (सी–सिपा) यस साझेदारीका आधार हुन् ।

उता, इरानसमर्थित सशस्त्र समूह कताइब हिजबुल्लाहविरुद्ध इराकले सैन्य कारबाहीको तयारी गरेको छ । तेल तस्करीको आशंकामा अनुसन्धान अघि बढाइरहेको इराकी सरकारले उक्त समूहको प्रभाव रहेको जर्फ अल नस्र क्षेत्रमा सेना परिचालन गर्ने आदेश दिएको सीएनएनले जनाएको छ ।

इराकी प्रधानमन्त्री अली अल जैदीले उक्त क्षेत्रमा सेना प्रवेश गराउन र तेल तस्करीको अनुसन्धानमा संलग्न रहेको आरोप लागेका सशस्त्र समूहलाई क्षेत्र छाड्न समयसीमा दिएका छन् । इराकी सरकारी समाचार संस्था इराकी न्युज एजेन्सी (आईएनए)का अनुसार सरकारका प्रवक्ता हैदर अल अबुदीले सोमबार उक्त आदेशको पुष्टि गरेका छन् । उनले समूहलाई क्षेत्र छाड्न दिइएको समयसीमा धेरै टाढा नरहेको बताएका छन् ।

अल जजिरा अरबीसँग कुरा गर्दै एक वरिष्ठ इराकी अधिकारीले कताइब हिजबुल्लाहलाई शुक्रबारसम्म जर्फ अल नस्र छाड्न समय दिइएको बताएका छन् । बग्दादको दक्षिणमा पर्ने उक्त क्षेत्र यसअघि जर्फ अल सखर नामले चिनिन्थ्यो । प्रधानमन्त्री अल जैदीले सैन्य तथा सुरक्षा अधिकारीहरूलाई उक्त क्षेत्र वरपर थप सुरक्षाकर्मी परिचालन गर्न र सरकारी सेना प्रवेश गराउने तयारी गर्न निर्देशन दिएका छन् ।

यसले इराकी सरकारी सेना र इरानसमर्थित सशस्त्र समूहबीच प्रत्यक्ष मुठभेडको अवस्था सिर्जना हुन सक्ने आकलन गरिएको छ । इराकी सुरक्षा निकायलाई उक्त क्षेत्रबाट तेल ट्यांकर तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बाहिरिन नदिनसमेत निर्देशन दिइएको छ ।

जर्फ अल नस्रमा अवैध तेल प्रशोधन केन्द्रहरू रहेको आशंकासहित इराकले भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरिरहेका बेला यो कदम चालिएको हो । इरानको इराकमाथिको प्रभाव घटाउन अमेरिका र खाडी क्षेत्रका केही सहयोगी राष्ट्रले बग्दादमाथि दबाब दिँदै आएका छन् ।

इरानसमर्थित र इराकमा अर्धसरकारी हैसियत प्राप्त सशस्त्र समूहहरूमध्ये एक कताइब हिजबुल्लाहले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेको छ । समूहले आइतबार जारी गरेको प्रतिक्रियामा गरिएको निरीक्षणका क्रममा तेल पाइपलाइनमा कुनै हस्तक्षेप नभेटिएको दाबी गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।