Logo

समाचार

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड



काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो । प्रतिनिधिमण्डलले सीईओ सुबेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको थियो ।

भेटका क्रममा अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने बताए । कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउनसमेत योगदान पुग्ने उनको भनाइ थियो ।

उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । जवाफमा नेप्सेका सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए ।

उनले अर्थ मन्त्रालयको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।