काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, उनले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। यसअघि आइतबार भारतीय विदेशमन्त्री एस। जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० आदानप्रदान गरिने कार्यक्रम छ।
भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्।
उक्त अवसरमा भारतीय व्यवसायीका चासो र सरोकार सुन्नुका साथै नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि अघि सारेका नीतिगत व्यवस्था र प्रयासबारे जानकारी गराइनेछ।
कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच सहकार्य तथा लगानी विस्तारका लागि थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।




















प्रतिक्रिया