Logo

विविध

कमजोर नेटवर्कप्रति मन्त्रीको असन्तुष्टि, टेलिकमसँग मागे टावरको क्षमतासहितको विवरण



काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सुधार्न निर्देशन दिएका छन्।

पर्याप्त लगानी र पूर्वाधार विस्तार हुँदाहुँदै पनि उपभोक्ताले गुणस्तरीय सेवा नपाउनुको कारण पहिचान गरी तत्काल सुधार गर्न उनले टेलिकमलाई निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनाले नेटवर्कमा समस्या देखिनुको वास्तविक कारण, टावरको क्षमता र तिनले समेट्ने क्षेत्रबारे तथ्यांकसहित विवरण माग गरेका छन्। सञ्चालनमा रहेका टावर पूर्ण क्षमतामा उपयोग भइरहेका छन् वा छैनन् भन्ने विषयमा समेत उनले चासो राखेका छन्।

देशभर नेटवर्क विस्तार भइरहे पनि विभिन्न स्थानमा फोन नलाग्ने, इन्टरनेट नचल्ने र सेवा अवरुद्ध हुने समस्या कायमै रहेको भन्दै मन्त्री तिमिल्सिनाले टेलिकमको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका थिए। सेवा राम्रो रहेको दाबी गर्नुभन्दा कमजोरी स्वीकार गरेर त्यसको समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी हुँदासमेत उपभोक्ताले गुणस्तरीय सेवा नपाउनु गम्भीर विषय भएको उनले बताए। सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

नेपाल टेलिकमका अनुसार हाल देशभर करिब पाँच हजार टावरमार्फत मोबाइल सेवा सञ्चालन भइरहेको छ। सेवा पहुँच र गुणस्तर विस्तार गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ। गत वर्ष टावरहरूमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थप गरिएको टेलिकमले जनाएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि सेवा निरन्तर सञ्चालन गर्न टावरहरूमा वैकल्पिक व्यवस्था गरिएको टेलिकमको दाबी छ। विद्युत् नभएको अवस्थामा सहरी क्षेत्रका टावर चारदेखि पाँच घण्टा र दुर्गम क्षेत्रका टावर आठदेखि १० घण्टासम्म सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

टेलिकमले पुराना टावरको क्षमता तथा सेवा सुधार, नयाँ टावर स्थापना र नियमित गुणस्तर परीक्षणको काम भइरहेको जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा बढी समस्या देखिने गरेको उसको भनाइ छ।

छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत अधिकारी सहभागी थिए।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार ०८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।