Logo

खेलकुद

फाइनल हारपछि रोहित पौडेलको प्रतिक्रिया : ‘हामीले प्रतियोगिताभर च्याम्पियनजस्तै खेल्यौँ, आज हाम्रो दिन थिएन’



काठमाडौं । सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीले समग्र प्रतियोगितामा च्याम्पियनको स्तरको प्रदर्शन गरेको बताएका छन् । रोहितले लिग चरण र क्वालिफायर वानमा टोलीले गरेको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे ।

‘जुन हिसाबले हामीले लिग स्टेज र क्वालिफायर वान खेल्यौँ, मलाई लाग्छ हामीले च्याम्पियनजस्तै खेल्यौँ। आजको दिन हाम्रो थिएन। समग्र प्रतियोगिता हाम्रो लागि निकै राम्रो रह्यो,’ उनले भने ।

रोहितले फाइनलमा सुदूरपश्चिमका ब्याटर विशेषगरी मुन्सीले उत्कृष्ट ब्याटिङ गरेको भन्दै उनको प्रशंसा गरे। लुम्बिनीले बनाएको स्कोर सम्मानजनक भए पनि विपक्षी ब्याटरले राम्रो प्रदर्शन गर्दा नतिजा आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो ।

बलिङतर्फ आफ्ना खेलाडीले शतप्रतिशत प्रयास गरेको उल्लेख गर्दै उनले बलरहरूको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । सबै बलरले आफ्नो योजना कार्यान्वयन गर्ने प्रयास गरे पनि त्यो दिन टोलीका लागि केही कुरा अनुकूल नभएको उनले स्वीकार गरे ।

फिल्डिङमा भएको क्याच ड्रपलाई पनि उनले खेलको एउटा अवसरका रूपमा व्याख्या गरे। ‘जानीजानी क्याच छोडेको होइन। खेलमा कहिलेकाहीँ अवसर छुट्छन्, कहिलेकाहीँ समातिन्छन् । त्यसलाई ठूलो मुद्दा बनाउन चाहन्नँ । आज हाम्रो दिन थिएन,’ रोहितले भने ।

उनले दोस्रो इनिङमा शीत (ड्यु) परेपछि बलिङ गर्न कठिन भएको पनि बताए। पहिलो इनिङमा पिचले बलरलाई केही सहयोग गरे पनि दोस्रो इनिङमा विकेट ब्याटिङका लागि सहज भएको उनको विश्लेषण थियो। शीतका कारण बल राम्रोसँग स्किड भएर ब्याटमा आउँदा फास्ट बलर र स्पिनर दुवैलाई विकेटबाट पर्याप्त सहयोग नमिलेको उनले बताए ।

लुम्बिनीको ब्याटिङका क्रममा भएको रनआउटप्रति पनि रोहितले दुःख व्यक्त गरे। उक्त रनआउटका कारण टोलीको रनगति केही समय सुस्त भएको भन्दै उनले त्यसो नभएको भए स्कोर १६५ देखि १७० सम्म पुग्न सक्ने सम्भावना रहेको बताए ।

विदेशी खेलाडीको योगदानबारे बोल्दै रोहितले डिक्वेला, डार्सी र ट्रम्पलम्यानलगायत खेलाडीबाट प्राप्त अनुभव र सुझाव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए। उनीहरूको उपस्थितिले लुम्बिनीको प्रदर्शनमा फरक पारेको उनको भनाइ थियो।

त्यस्तै, नेपाली खेलाडीहरूको प्रदर्शनप्रति पनि उनले खुसी व्यक्त गरे। विशेषगरी रिजन र लोकेशको प्रदर्शनको प्रशंसा गर्दै कमलसहित अन्य नेपाली खेलाडीले पनि राम्रो योगदान दिएको उनले बताए। एनपीएलमा स्थानीय खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटको विकासका लागि सकारात्मक भएको रोहितको धारणा थियो।

उनले सिजन १ देखि नै लुम्बिनीलाई निरन्तर साथ र माया दिँदै आएका समर्थकलाई धन्यवाद दिए। फाइनलमा हार बेहोर्नुपरे पनि समर्थकलाई निराश नहुन आग्रह गर्दै उनले आगामी सिजन अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।