Logo

समाचार

रुसको क्यान्सर भ्याक्सिन परीक्षणकै चरणमा, सबै क्यान्सर निको हुने दाबी भ्रम मात्र



काठमाडौं । रुसले क्यान्सरविरुद्धको भ्याक्सिन विकास गरेको समाचार सार्वजनिक भइरहेका बेला क्यान्सर रोग विशेषज्ञले उक्त भ्याक्सिन अहिले अनुसन्धान तथा क्लिनिकल परीक्षणको प्रारम्भिक चरणमा रहेको प्रतिक्रिया दिएका छन् ।

भ्याक्सिन विकास हुँदैमा सबै प्रकारका क्यान्सर निको हुने वा उपचार पूर्ण रूपमा सम्भव भइसकेको निष्कर्ष निकाल्न नमिल्ने चिकित्सकको भनाइ छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा मेडिकल अन्कोलोजीका सहायक प्राध्यापक तथा क्यान्सर रोग विशेषज्ञ डा.समिम अख्तरले रुसमा विकास भइरहेका क्यान्सरविरुद्धका भ्याक्सिन प्रयोगात्मक चरणमा रहेको बताए।

उनका अनुसार नियोअन्कोभ्याक र इन्टेरोमिक्सलगायतका भ्याक्सिनबारे अनुसन्धान भइरहेको छ भने अन्य देशहरूले पनि क्यान्सरविरुद्ध विभिन्न प्रकारका भ्याक्सिन विकास गर्ने प्रयास गरिरहेका छन् ।

क्यान्सरविरुद्ध भ्याक्सिन विकास हुनु चिकित्सा विज्ञानका लागि सकारात्मक उपलब्धि भएपनि त्यसको प्रभावकारिता, सुरक्षा, प्रयोगको उपयुक्तता र दीर्घकालीन परिणाम पुष्टि हुन आवश्यक रहेको उनले बताए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा केही बिरामीमा ट्युमर घटेको देखिएको दाबी गरिएको छ । तर, सीमित बिरामीमा गरिएको परीक्षणको परिणामका आधारमा उक्त भ्याक्सिन सबै बिरामीमा प्रभावकारी हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

क्यान्सरको उपचारमा जेनेटिक अनुसन्धानको विकास

क्यान्सरको उपचारमा पछिल्लो समय जेनेटिक तथा मोलिक्यूलर तहमा गरिने अनुसन्धानले महत्वपूर्ण परिवर्तन ल्याएको छ । मानव शरीरका कोशिका, तिनको संरचना, जिन र डीएनएमा हुने परिवर्तनबारे अध्ययन गर्दै वैज्ञानिकहरूले विभिन्न रोगको कारण तथा उपचारका सम्भावित उपाय पहिचान गरिरहेका छन् ।

डा. अख्तरका अनुसार मानव शरीरको सामान्य जेनेटिक संरचना बुझ्न गरिएको ह्युमन जेनोम प्रोजेक्टले रोगको अध्ययन र उपचार विकासका लागि महत्वपूर्ण आधार तयार गरेको थियो। मानव शरीरमा सामान्य अवस्थामा जीन्स र कोशिकाहरूको संरचना कस्तो हुन्छ भन्ने जानकारी प्राप्त भएपछि विभिन्न रोगमा हुने परिवर्तनबारे अध्ययन गर्न सहज भएको उनले बताए।

‘नर्मल त हामीसँग ब्लुप्रिन्ट छ, त्यसको नक्सा छ। त्योभन्दा फरक के परिवर्तनहरू आयो भने यो डिजिजहरू बन्छ भनेर स्टडी हुन थाल्यो,’ उनले भने।

उनका अनुसार कोशिकाको सामान्य संरचनामा परिवर्तन आउँदा विभिन्न रोग उत्पन्न हुन सक्छन् । क्यान्सरमा पनि कोशिकाको डीएनए, जीन्स तथा प्रोटिनको संरचनामा हुने परिवर्तनले कोशिकाको असामान्य वृद्धि र विभाजनलाई प्रभावित गर्छ। यही आधारमा वैज्ञानिकहरूले क्यान्सरका विभिन्न प्रकारमा हुने विशिष्ट परिवर्तन पहिचान गरी उपचारका नयाँ विधि विकास गरिरहेका छन्।

क्यान्सरको उपचारमा यही अनुसन्धानबाट टार्गेटेड थेरापी र इम्युनोथेरापीजस्ता आधुनिक उपचार पद्धति विकास भएको उनले बताए।

इम्युनोथेरापी र थेरापीले बदल्दै क्यान्सर उपचार

क्यान्सर उपचारमा प्रयोग हुँदै आएका आधुनिक विधिमध्ये इम्युनोथेरापी र टार्गेटेड थेरापी महत्वपूर्ण छन् । टार्गेटेड थेरापीले क्यान्सर कोशिकामा रहेका विशिष्ट अणु, प्रोटिन वा अन्य संरचनालाई लक्षित गरेर काम गर्छ। यसले क्यान्सर कोशिकाको वृद्धि तथा फैलावटलाई रोक्न सहयोग गर्छ।

इम्युनोथेरापीले भने शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै क्यान्सर कोशिकाविरुद्ध लड्न सहयोग गर्छ । शरीरभित्र रहेका टी–सेल्सलगायत प्रतिरक्षा कोशिकालाई सक्रिय बनाउने औषधिहरू यस उपचार पद्धतिमा प्रयोग गरिन्छ।

उनका अनुसार पेम्ब्रोलिजुम्याब, निभोलुम्याब र डुर्भालुम्याबजस्ता औषधि इम्युनोथेरापीमा प्रयोग भइरहेका छन्। त्यस्तै ट्रास्टुजुम्याबलगायत औषधि टार्गेटेड थेरापीका रूपमा प्रयोग गरिन्छ । यस्ता औषधि क्यान्सरको प्रकार र बिरामीको अवस्थाअनुसार प्रयोग गरिने उनले बताए।

कतिपय आधुनिक औषधि नेपालमा उपलब्ध भए पनि केही औषधि अझै विदेशमामात्र उपलब्ध रहेको उनको भनाइ छ।

क्यान्सर भ्याक्सिन र सामान्य भ्याक्सिनबीच फरक

सामान्यतया भ्याक्सिन भन्नाले कुनै रोगको संक्रमण हुनबाट रोक्न शरीरलाई प्रतिरक्षा क्षमता विकास गर्न सहयोग गर्ने औषधि बुझिन्छ । तर क्यान्सरविरुद्ध विकास भइरहेका कतिपय भ्याक्सिन रोग भइसकेपछि उपचारमा सहयोग गर्ने उद्देश्यले प्रयोग गर्न खोजिएका छन्।

डा. अख्तरका अनुसार क्यान्सरविरुद्धको भ्याक्सिनको अवधारणा शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिका पहिचान गर्न र तिनविरुद्ध प्रतिक्रिया दिन सक्षम बनाउनु हो।

क्यान्सर कोशिकामा हुने विशिष्ट परिवर्तन पहिचान गरी त्यसैलाई लक्षित गर्ने उपचार विकास गर्न सकिने भएपनि सबै बिरामीको क्यान्सरको संरचना एउटै नहुने भएकाले उपचारको प्रभावकारिता पनि फरक हुन सक्ने उनले बताए।

क्लिनिकल ट्रायलका चार चरण

कुनै नयाँ औषधि वा भ्याक्सिन मानिसमा प्रयोग गर्नुअघि त्यसको सुरक्षा, प्रभावकारिता र उपयुक्त मात्रा परीक्षण गर्न विभिन्न चरणका क्लिनिकल ट्रायल गरिन्छ। सामान्यतया फेज वान, फेज टु, फेज थ्री र फेज फोर गरी चार चरणमा यसको परीक्षण हुने गर्छ।

फेज वानमा सीमित संख्याका सहभागीमा औषधिको मात्रा, सुरक्षा र सम्भावित साइड इफेक्ट अध्ययन गरिन्छ। यस चरणमा औषधि मानिसका लागि कत्तिको सुरक्षित छ र कति मात्रा प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने विषयमा मुख्य रूपमा अध्ययन गरिन्छ।

फेज टुमा सहभागीको संख्या बढाएर औषधिको प्रभावकारिता र साइड इफेक्टबारे थप अध्ययन गरिन्छ । यस चरणमा औषधिले लक्षित रोगमा कत्तिको काम गर्छ भन्ने विषयलाई प्राथमिकता दिइन्छ ।

फेज थ्रीमा अझ ठूलो संख्याका बिरामी सहभागी गराएर नयाँ औषधिको प्रभावकारिता स्थापित उपचार पद्धतिसँग तुलना गरिन्छ । यसबाट नयाँ औषधि पुरानो उपचारभन्दा कत्तिको प्रभावकारी छ, बिरामीको अवस्था सुधार गर्न कत्तिको सहयोग गर्छ र यसको जोखिम कस्तो छ भन्ने मूल्याङ्कन गरिन्छ।

फेज थ्रीको परिणाम सकारात्मक आएपछि नियामक निकायको स्वीकृतिका आधारमा औषधि बजारमा उपलब्ध हुन सक्छ। त्यसपछि फेज फोर अर्थात् पोस्ट मार्केटिङ अध्ययनमार्फत औषधि प्रयोग गर्ने ठूलो संख्याका बिरामीमा यसको प्रभाव, दीर्घकालीन परिणाम तथा दुर्लभ साइड इफेक्टबारे निगरानी गरिन्छ।

प्रारम्भिक नतिजा सकारात्मक हुँदैमा प्रभावकारिता पुष्टि हुँदैन

रुसमा विकास भइरहेको क्यान्सरविरुद्धको भ्याक्सिनबारे सार्वजनिक भएका प्रारम्भिक नतिजा सकारात्मक देखिए पनि त्यसलाई प्रभावकारी उपचारका रूपमा स्थापित गर्न थप अध्ययन आवश्यक रहेको डा. अख्तरले बताए।

प्रारम्भिक परीक्षणमा ट्युमर घटेको देखिनु एउटा सकारात्मक संकेत भए पनि बिरामीको रोग कति समय नियन्त्रणमा रह्यो, उपचारपछि रोग पुनः फर्कियो कि फर्किएन, बिरामीको बाँच्ने अवधि कति बढ्यो र औषधिका दीर्घकालीन असर के छन् भन्ने विषय महत्वपूर्ण हुने उनले बताए।

क्यान्सर उपचारमा प्रयोग भइरहेका केमोथेरापी तथा अन्य स्थापित उपचार पद्धतिसँग तुलना गरेर नयाँ भ्याक्सिनको प्रभावकारिता मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार नयाँ उपचार विधि प्रभावकारी देखिए पनि त्यसले पुरानो उपचारलाई विस्थापन गर्न सक्ने वा नसक्ने भन्ने विषय अनुसन्धानबाट पुष्टि हुनुपर्छ। प्रारम्भिक नतिजाका आधारमा मात्र नयाँ औषधि पुरानो उपचारभन्दा राम्रो छ भन्न मिल्दैन।

एचपीभी भ्याक्सिनले क्यान्सर रोकथाममा देखाएको उपलब्धि

क्यान्सरविरुद्ध भ्याक्सिनको अवधारणा नयाँ भने होइन। ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको भ्याक्सिनले संक्रमणबाट बचाउन सहयोग गर्छ र एचपीभी संक्रमणसँग सम्बन्धित पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्छ।

डा. अख्तरका अनुसार एचपीभी भ्याक्सिन क्यान्सर रोकथाममा प्रयोग हुँदै आएको उदाहरण हो । तर कुनै पनि भ्याक्सिनले सबै व्यक्तिमा शतप्रतिशत सुरक्षा दिन्छ भन्ने हुँदैन। यसको प्रभावकारिता तथ्याङ्क र अध्ययनका आधारमा मूल्याङ्कन गरिन्छ।

उपचार फरक हुनसक्छ

क्यान्सर एउटै रोग नभएर विभिन्न प्रकार र विशेषता भएको रोगहरूको समूह हो। एउटै अंगमा देखिएको क्यान्सरसमेत कोशिकाको संरचना, जेनेटिक परिवर्तन, हर्मोनको अवस्था र अन्य विशेषताका आधारमा फरक हुन सक्छ।

आन्द्राको क्यान्सरमा समेत विभिन्न प्रकार हुने भएकाले एउटै औषधि सबै बिरामीमा प्रभावकारी नहुन सक्ने डा. अख्तरले बताए। त्यसैगरी स्तन क्यान्सरमा हर्मोन पोजिटिभ र हर्मोन नेगेटिभजस्ता विभिन्न प्रकार हुने भएकाले उपचार पद्धति पनि फरक हुन्छ।

हर्मोन पोजेटिभ स्तन क्यान्सरमा हर्मोनल थेरापी तथा अन्य लक्षित उपचार प्रयोग हुन सक्छ भने हर्मोन नेगेटिभ क्यान्सरमा बिरामीको अवस्था र क्यान्सरको विशेषताअनुसार फरक औषधि आवश्यक पर्न सक्छ।

‘एउटा आन्द्राको क्यान्सरमा एउटा भ्याक्सिनले काम गर्‍यो भन्दैमा त्यही भ्याक्सिनले अर्को आन्द्राको क्यान्सरमा काम गर्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने।

क्यान्सरको उपचारमा बिरामीको ट्युमरको संरचना र विशिष्ट विशेषता पहिचान गरेर उपचार छनोट गर्ने विधिलाई प्रिसिजन मेडिसिन अर्थात् सटीक उपचार पद्धति भनिन्छ। यसमा बिरामीको क्यान्सरको प्रकृति र परीक्षणको नतिजाका आधारमा उपयुक्त औषधि छनोट गरिन्छ।

भ्याक्सिन उपलब्ध छैन

क्यान्सरविरुद्ध नयाँ औषधि तथा भ्याक्सिन विकास भइरहनु चिकित्सा विज्ञानको महत्वपूर्ण प्रगति भए पनि अहिले नै सबै प्रकारका क्यान्सर निको पार्ने एउटै भ्याक्सिन उपलब्ध भइसकेको अवस्था नरहेको डा. अख्तरले स्पष्ट पारे।

उनका अनुसार रुसमा विकास भइरहेका भ्याक्सिनको प्रभावकारिता र सुरक्षाबारे थप चरणका परीक्षण पूरा हुन आवश्यक छ । त्यसपछि मात्रै यसको प्रयोग कुन प्रकारका क्यान्सरमा, कुन बिरामीलाई र कस्तो अवस्थामा गर्न सकिन्छ भन्ने विषय स्पष्ट हुनेछ ।

क्यान्सरको उपचारमा नयाँ प्रविधि र औषधिको विकासले आशा जगाए पनि प्रमाणित उपचार पद्धति, चिकित्सकीय परामर्श र वैज्ञानिक अनुसन्धानका नतिजालाई आधार बनाएर मात्रै उपचारबारे निर्णय गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।