काठमाडौँ।नागरिकले राज्यलाई कर तिर्छन्। राज्यले नागरिकको सुरक्षाको जिम्मेवारी लिन्छ। तर नेपालमा नागरिकको सुरक्षाका नाममा अर्को एउटा अनिवार्य आर्थिक बोझ थपिएको छ– बीमा। सार्वजनिक यातायातका साधनदेखि निजी सवारीसम्मको ब्लुबुक नवीकरण र रुट परमिटका लागि बीमा अनिवार्य छ।
बीमा गरेको प्रमाण पेस गरेपछि मात्रै यातायात कार्यालयले राजस्व बुझ्छ। पछिल्लो समय त सवारीसाधन खरिद गर्दा नै बीमा गराउन लगाइन्छ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत बीमा अनिवार्य गरिएको छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा, सवारीसाधन वा अन्य धितो राखेर ऋण लिन पनि बीमा गर्नुपर्ने व्यवस्था छ। हवाईजहाजको समेत बीमा हुन्छ। अर्थात् नागरिकले जीवनको हरेक मोडमा बीमाका नाममा रकम खर्चिरहेका छन्।
बीमाको दायरा विस्तार हुनु आफैँमा नराम्रो होइन। जोखिमको समयमा नागरिकलाई आर्थिक सुरक्षा दिनु यसको मूल उद्देश्य हो। तर नेपालमा बीमा व्यवसायको विस्तारसँगै नागरिकले पाउनुपर्ने सुरक्षा भने सुनिश्चित हुन सकेको छैन। बीमा कम्पनीहरूले प्रिमियम असुल्न कुनै कसर बाँकी राख्दैनन्, तर दाबी भुक्तानी गर्ने बेला अनेक बहाना बनाउने प्रवृत्ति बढ्दो छ। बीमा कम्पनीहरू बजार विस्तार गर्न आकर्षक योजना ल्याउँछन्। लामो अवधिका बीमा योजनामा नागरिकलाई आकर्षित गरिन्छ।
एकैपटक १० वर्षसम्मको बीमा गराउने र त्यसपछि नियमित किस्तामा रकम बुझाउन लगाउने गरिन्छ। तर आर्थिक अवस्था कमजोर भएर नागरिकले किस्ता तिर्न नसकेमा बीमा नै रद्द गरिन्छ। विडम्बना, बीमा रद्द हुँदा यसअघि बुझाएको रकमसमेत फिर्ता नपाउने अवस्था छ। वर्षौंसम्म रकम बुझाएको नागरिक अन्ततः बीमाको सुरक्षा पनि गुमाउँछ र आफ्नो बचत पनि।
बीमाको अवधि बाँकी रहँदै दुर्घटना वा अन्य जोखिम आइपरेमा अर्को समस्या देखिन्छ। बीमा कम्पनीले तोकेको अवधि समाप्त नभएको भन्दै भुक्तानी अस्वीकार गर्ने वा दाबी प्रक्रियालाई जटिल बनाउने गरेका उदाहरण छन्। बीमा गराउँदा नागरिकको हस्ताक्षर र रकम लिन हतार गर्ने कम्पनीहरू क्षतिपूर्ति दिने बेला भने प्रमाण र कागजातको लामो सूची तेर्स्याउँछन्।
यसको सबैभन्दा ठूलो मार विपद्का बेला देखिन्छ। २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुग्यो। ७७ जनाले ज्यान गुमाए। सरकारी सम्पत्तितर्फ ८४ अर्ब ७७ करोड र निजी क्षेत्रतर्फ २७ अर्बभन्दा बढीको क्षति भएको विवरण सार्वजनिक भयो। त्यसपछि २०८३ भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी आयो। १५० भन्दा बढी नागरिकको मृत्यु हुनुका साथै पाँच हजारभन्दा बढी बेपत्ता भएको र आठ खर्बभन्दा बढीको क्षति भएको सरकारी दाबी छ।
असोजमा बुढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि ठूलो जनधनको क्षति पुर्यायो। तर यस्ता विपद्बाट प्रभावित नागरिकले बीमा गरेको भए पनि सहज रूपमा क्षतिपूर्ति पाउन सकेका छैनन्। घरबास बगाएको नागरिकसँग बीमा कम्पनीले प्रमाण माग्छ। बीमा गराउँदा नागरिकको इच्छाभन्दा कम्पनीका प्रतिनिधिको आग्रह र प्रलोभन बढी प्रभावकारी हुन्छ। तर दाबी भुक्तानीको समय आउँदा त्यही कम्पनी नागरिकको पीडा सुन्नसमेत तयार देखिँदैन। बीमा कम्पनीहरूको यो व्यवहार नयाँ होइन।
आकर्षक प्रतिफल र सुविधाको प्रचार गरेर बीमा गराउने, तर दाबी भुक्तानीको समयमा अनेक कानुनी छिद्र खोज्ने प्रवृत्तिले बीमाप्रतिको नागरिकको विश्वास कमजोर बनाएको छ। बीमा कम्पनीहरू नागरिकलाई सुरक्षा दिने संस्था हुन् कि प्रिमियम संकलन गरेर नाफा कमाउने व्यापारिक प्रतिष्ठान मात्रै? सवारीसाधनको बीमामा पनि नागरिकले यस्तै समस्या भोगिरहेका छन्। दुर्घटनामा सवारीसाधन क्षतिग्रस्त हुँदा बीमा कम्पनीले मर्मत खर्च दिन अनेक प्रक्रिया पूरा गर्न लगाउँछन्।
कतिपय अवस्थामा क्षतिको वास्तविक मूल्यांकनसमेत हुँदैन। तर बीमा नवीकरण गर्ने समय आउँदा कम्पनीका प्रतिनिधि आफैँ नागरिकको ढोकामा पुग्छन्। अझ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने नागरिकको अवस्था झन् कठिन छ। ऋण लिन घरजग्गा धितो राखेपछि त्यसको बीमा गर्नुपर्छ। बीमाको रकम पनि बैंकले तोकेको संस्थामार्फत बुझाउनुपर्ने अवस्था छ। नागरिकले एकैपटक ठूलो रकम तिरेर बीमा गराउँछन्। तर ऋण तिर्न नसकेर किस्ता रोकिएको अवस्थामा बैंकले धितो लिलाम गर्न ढिलाइ गर्दैन।
बीमा गरेको सम्पत्तिसमेत लिलाम हुँदा बीमाको लाभ कसले पाउँछ? नागरिकले तिरेको प्रिमियमको औचित्य के रहन्छ? कोरोना महामारीका बेला बीमा कम्पनीहरूले अर्को उदाहरण प्रस्तुत गरे। कोरोना संक्रमण भए निःशुल्क उपचार र मृत्यु भए प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म उपलब्ध गराउने भन्दै बीमा योजनाको प्रचार गरियो। लाखौँ नागरिकले विश्वास गरेर रकम बुझाए। तर संक्रमण भएपछि निःशुल्क उपचार पाएनन्। मृत्यु भएका परिवारले समेत घोषित रकम पाउन सकेनन्।
बीमा कम्पनीहरूले दाबी भुक्तानीमा आलटाल गरे। अर्कोतर्फ, सरकारले स्वास्थ्य बीमामार्फत नागरिकलाई राहत दिने घोषणा गरेको छ। पाँच जनाको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेपछि वर्षभरि स्वास्थ्य उपचार सुविधा पाउने भनिएको छ। तर व्यवहारमा सरकारी अस्पतालमै बीमामार्फत उपचार सेवा लिन कठिन छ।
निजी अस्पतालमा रिफर गरिएका बिरामीले समेत आर्थिक भार बेहोर्नुपर्छ। सरकारले स्वास्थ्य बीमाबापत भुक्तानी गर्नुपर्ने अर्बौं रुपैयाँ बाँकी राख्दा सरकारी अस्पतालहरूले बीमामार्फत औषधि तथा उपचार सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ। सरकारले नागरिकलाई अनिवार्य बीमा गराउँछ, तर बीमाको दायित्व पूरा गराउन सक्दैन। योभन्दा ठूलो विडम्बना के हुन सक्छ?




















प्रतिक्रिया