काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँ छ। यसको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याइएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि यसअघि नै निष्कासन गरिएको थियो।
त्यस्तै, सर्वसाधारण समूहका लागि छुट्याइएको बाँकी ४२ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् चार लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। पाँच प्रतिशत अर्थात् दुई लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोष र तीन प्रतिशत अर्थात् एक लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
यी समूहमा सेयर बाँडफाँट तथा सुरक्षित गरेपछि बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसअनुसार न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म लगानी गर्नुपर्नेछ।
आईपीओमा मंसिर १८ देखि आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा मंसिर २३ गते बन्द हुनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा पुस ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्राएनपी–आईआर डबल बी प्लस’ रेटिङ दिएको छ। कम्पनीले २०२६ अगस्ट १३ मा प्राप्त गरेको उक्त रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०२७ अगस्ट १३ सम्म बहाल रहनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।




















प्रतिक्रिया