काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित पुस ६ गते सोमबार दशौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको साधारण सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सुरु हुनेछ।
सभामा नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। यसका लागि नेपाल सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ।
त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने तथा नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउनेछन्।



















प्रतिक्रिया