सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताएका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे ।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बहस गर्न आवश्यक नभएको बताउँदै नेपालको संविधान र पार्टी विधानअनुसार आफूहरूले आधिकारिकता पाउने दाबी गरे ।
‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने ।
देउवाले न्यायालयप्रति आफूलाई राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गर्दै अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताए ।
आफू पाँचपटक प्रधानमन्त्री भइसकेको र पार्टी तथा देशका जनताबाट पर्याप्त अवसर पाइसकेको उल्लेख गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे ।
‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन् । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने ।




















प्रतिक्रिया