Logo

राजनीति

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले लगानीसँग सम्बन्धित केही कानुन आगामी केही दिनभित्रै संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

काठमाडौं क्षेत्र नं। ६ अन्तर्गत टोखा नगरपालिका–१, बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा मन्त्री खनालले विद्यमान कानुनी जटिलता हटाउन नसकेसम्म लगानीका लागि अनुकूल वातावरण बनाउन कठिन हुने बताए।

उद्योग तथा व्यवसाय विस्तारका लागि सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानी बढेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने धारणा राखे।

मन्त्री खनालले काठमाडौं क्षेत्र नं। ६ को विकासका लागि आफू निरन्तर सक्रिय रहेको पनि बताए। क्षेत्रका विभिन्न विकास आयोजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

यसैबीच, मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भइनसकेको स्पष्ट पारेका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भारत भ्रमणपछि प्रधानमन्त्रीले चीन भ्रमण गर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए पनि भ्रमणको मिति भने टुंगो नलागेको बताए।

“छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन,” उनले भने।

मन्त्री खनालका अनुसार उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले निरन्तर गरिरहेको छ। मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीका काम नियमित रूपमा अघि बढाइरहेको उनले बताए।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार २०:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।