युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ ।
गएराति भएको समूह चरणको पाँचौ राउन्डको खेलमा पीएसजीले युनाइटेडलाई उसैको घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजितको गरेको हो । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २-१ को हारको बदला लिएको छ ।
पीएसजीलाई सहज जित दिलाउनको लागि ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल गरे भने कप्तान मार्किन्हसले एक गोल गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।
खेल सुरु भएको ६ मिनेटमै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलेको २३ औँ मिनेटमा रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफमा १-१ को बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ६९ औँ मिनेटमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
७० औँ मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । त्यसपछि युनाइटेड झनै दबाबमा पर्यो । फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि थप समयमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीसएजीलाई ३-१ काे सहज जित दिलाए । यो जितसँगै समूह ‘एच’ मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान ९ अंक भएपनि युनाइटेड गोल अन्तरमा अघि छ ।
यही समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।





















प्रतिक्रिया