Logo

इंग्लिस प्रिमियर लिग : ह्यारी केन र ह्युङ मिन सनको गोलमा टोटेनहमले २-० को जित दर्ता



इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएकाे खेलमा टोटेनहम हट्स्परले आर्सनललाई पराजित गरेको छ । ह्यारी केन र ह्युङ मिन सनको गोलमा टोटेनहमले २-० को जित दर्ता गर्यो ।

घरेलु मैदानमा भएकाे खेलमा टोटेनहमले १३ औं मिनेटमा अग्रता लिएको थियो । केनको पासमा दक्षिण कोरियाली फरवार्ड सनले गोल गर्दै अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक बर्न्ड लेनोले बचाउन नसक्दा गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर केनले अग्रता दोब्बर पारे । सनको पासमा केनले पेनाल्टी क्षेत्रभित्रबाट गाेल गरेका थिए ।

दोस्रो हाफमा आर्सनलले बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जोसे मोउरिन्होको रक्षात्मक रणनीति तोड्न सकेन । टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले केहि उत्कृष्ट बचाउ गर्दै अग्रता जोगाएका थिए । उनले एलेक्जेन्डर लाकाजेट र पिएर एमेरिक औबामेयाङको हेडरमा उत्कृष्ट बचाउ गरेका थिए ।

यस जितसँगै टोटेनहम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा ७ जित, ३ बराबर र १ हारसहित २४ अंक जोडेको छ । दाेसाे स्थानमा रहकाे लिभरपुलकाे पनि २४ नै अंक रहेकाे छ । आर्सनल ११ खेलमा १३ अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।