गैरआवासीय नेपाल संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदै छ । काठमाडौंको होटेल ह्यातमा अहिले केही समयपछि शुरु हुने मतदानमा मतदाताहरूले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । एनआरएनएको ९ औँ सम्मेलनमा नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट कुल आचार्य र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकटको प्रगतिशील समूहबाट कुमार पन्त अध्यक्षको उम्मेदवार बनेका छन् । उनीहरूले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।
प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन हुन लागेको छ । बुधबार निर्धाति समयभन्दा करीब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान शुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो ।
भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिनमध्ये २ वटाले मात्रै काम गरेको थियो । नियतबस मतदान स्थगित भएको भन्दै मतदाताले घण्टौँसम्म नाराबाजी गर्दै आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए । मंगलबारदेखि सुरु भएको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा विश्वका ८१ शाखामध्ये ६० वटाभन्दा बढी शाखाबाट प्रतिनिधित्व छ ।
निर्वाचनमा २६ सय १३ मतदाता रहेको निर्वाचन बिहीबार दिउँसो ४ बजे सम्म चल्नेछ । मतदान सम्पन्न हुनेवित्तिकै मतगणना शुरु हुनेछ । कांग्रेस र कम्युनिस्टबीच एनआरएनएमा कडा प्रतिस्पर्धा हुन लागेको प्रतिनिधिहरूले जनाएका छन् । कांग्रेस निकटका उम्मेदवारहरूले कम्युनिस्ट निकटका उम्मेदवारहरूलाई पराजित गर्ने दाबी गरेका छन् ।
कांग्रेसले जित्ने भएपछि एनआरएनएको निर्वाचनमा अरिँगालद्वारा धाँधली, आयो आचार्यको अपील
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार कुल आचार्यको पक्षमा एकाएक माहोल भएपछि कम्युनिस्टहरूबाट गडबढी शुरू भएको छ ।नेपाली कांग्रेस निकटका कुल आचार्य अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएपछि बुधबार साँझ सात बजे हुने भनिएको निर्वाचन कार्यक्रम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्त समूहले विथोलेको हो ।
एनआरएनएको सम्मेलनमा नेकपाका कुमार पन्त समूहले नारावाजी गरेर निर्वाचन कार्यक्रम नै बिथोलिदिएको एक जना प्रतिनिधिले बताए । नेकपा निकटका अध्यक्षका उम्मेदवार कुमार पन्त पराजित हुने निश्चित जस्तै भएपछि एनआरएनएको सम्मेलनमा कम्युनिस्टहरूले भाँडभैलो शुरु गरेको आरोप लागेको छ । यो आरोप मान्न प्रगतिशील समूह तयार छैन ।
काठमाडौंको बौद्धस्थित होटेल ह्यातमा बुधबार साँझ सात बजेदेखि नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम थियो । बिहीबार बिहान दश बजेसम्मका निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्त र निर्वाचन समितिका संयोगक शिवकुमार रिजाललेको मिलोमतोमा निर्वाचन कार्यक्रम निर्धारित समयभन्दा एक दिन पर सारिएको एक जना प्रतिनिधिले बताए ।
निर्वाचन समितिका संयोजक शिवकुमार रिजाल पूर्वएमालेका नेता एवम् अधिवक्ता हुन् । स्रोतका अनुसार निर्वाचन कार्यक्रमलाई एक दिन पर धकेल्दा नेपाली कांग्रेस निकटका कुल आचार्यलाई बेफाइदा हुने अनुमानसहित प्रगतिशील समूहले सत्ताको दुरुपयोग गर्दै निर्वाचन कार्यक्रम विथोलेको आरोप छ ।
‘कुल आचार्यको पक्षमा एकाएक माहोल बनेको छ । कुमार पन्तको समूह पराजित हुने भएपछि निर्वाचन कार्यक्रम धाँधली गरेर रोकिएको छ’, स्रोतले भन्यो, ‘निर्वाचन कार्यक्रम एक दिन ढिला गर्दा कुल आचार्य निकटका प्रतिनिधिहरू घर जाने र निर्वाचनमा सहभागी नहुने भएपछि त्यसको फाइदा प्रगतिशील समूहका कुमार पन्तलाई हुने रणनीतिमा निर्वाचन कार्यक्रम बिहीबारसम्म धकेलिएको छ ।’
प्रगतिशील समूहको रणनीति बुझेका कांग्रेस निकटको कुल आचार्य समूहले एनआरएनएका सबै प्रतिनिधिहरूलाई मतदान गरेर मात्रै घर फर्किन अपील गरेको छ । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको अलोकप्रियताको प्रभाव एनआरएनएको अधिवेशनमा समेत देखिएको छ । कम्युनिस्ट सरकारबाट आजित बनेका एनआरएनएका प्रतिनिधिहरूले लोकतान्त्रिक समूहलाई साथ दिने घोषणा गरेपछि कुमार पन्त समूहको सातो उडेको छ ।
लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पारेका हुन् । उनले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गरेको पनि स्मरण गराए ।
अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिइरहेको पनि बताए ।
‘अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकि होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान्,’ मन्त्री भट्टराईको भनाई थियो, ‘तिनीहरुको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व सरकारको हो ।’
त्यस अवसरमा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याए ।
यसैबीच, अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । काठमाडौँको प्रर्दशनीमार्गस्थित पर्यटन बोर्डको गेटबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, रत्नपार्क हुँदै जमलस्थित राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।





















प्रतिक्रिया