Logo

अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूद्वारा जो बाइडनको जित भएको पुष्टि



अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्। यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो।

देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा भएको छ । उनको जितले आधिकारिकता पाएको छ ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन् । यस्तै २३२ इलेक्टोरल कलेज मत पाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयले पनि औपचारिकता प्राप्त गरेको छ ।

अमेरिकी प्रणाली अनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् ।

बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गरेका छैनन् । उनले आफू इलेक्टोरल कलेज मतमा विजयी हुने दाबी गर्दै आएका थिए ।

विभिन्न प्रतिस्पर्धात्मक राज्यमा नतिजा उल्याउनका लागि गरेको ट्रम्पको प्रयास असफल भयो । उनले दायर गरेका मुद्दा प्रमाणको अभाव र आधारहिन आरोप भन्दै तल्लो देखि सर्वोच्च अदालतसम्मले खारेज गरेका छन् । तर पनि ट्रम्पले नतिजा भने स्वीकार गरेका छैनन् ।

सामान्यतया इलेक्टोलर कलेज सदस्यले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रियाले त्यति चासो पाएको हुँदैन ।

तर यो वर्ष ट्रम्पले नतिजा अस्वीकार गरेको र इलेक्टोरल कलेज मतमा नतिजा उल्ट्याउन प्रयास गरेकाले चासोको केन्द्रमा यो प्रक्रिया रहेको हो । अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।