चौधरी फाउण्डेसनले कोरोनाभाइरसको संक्रमणसँग जुध्न सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोरोना भाइरस संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।
फाउन्डेसनले यी सामाग्री चीनबाट आयात गरेको हो । फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताए । उनले स्वास्थ्यमा सीमित साधनस्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन नसकिने स्पष्ट पारे । उनले यी ‘पीसीआर रिएजेन्ट’ उपकरणबाट द्रुत गतिमा कोरोना परीक्षण हुने विश्वास व्यक्त गरेका छन् ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा भएको चौधरीले बताएका छन् । यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।






















प्रतिक्रिया