उदयपुरमा एकै परिवारका ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये तीन जना बालबालिका रहेका छन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये एक जना तेस्रो मुलुक कुबेतबाट र बाँकी पाँच जना छिमेकी मुलुक भारतबाट आएका एक परिवारका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार कटारी नगरपालिका ५ का एकै परिवारका ४६, २१, १७, १३, १० र त्रियुगा नगरपालिका ४ की ३८ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखिएको हो । तर श्रीमतीलाई भने नेगेटिभ देखिएको छ । ४६ र २१ बर्षिय वुवा छोरा हुन् । बाँकी तीन जना छोरी हुन् ।
भारतको दिल्लीमा होटल सञ्चालन गर्दै आएका उनीहरु असार ३ गते घर नेपाल फर्किएका थिए । उनीहरुलाई सिमा क्षेत्रबाट नगरपालिकाले उद्धार गरी नेपाली सेनाको बेलसोत क्याम्पमा राखेको थियो । सँगै आएकी श्रीमतीलाई कोरोना नदेखिएपछि उनलाई सेनाकै क्वारेन्टाईनमा राखिएको छ भने अन्यलाई उपचारका लागि बेल्टार लगिएको छ ।
त्यस्तै असार ९ गते तेश्रो मुलुक कुवेतबाट आएकी त्रियुगाकी महिलालाई भने त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाईनमा राखिएको थियो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । अहिले सम्म उदयपुरमा १९ जना महिला सहित ६७ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ५१ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
संक्रमित मध्ये अहिलेसम्म ३९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ सय ६० जना महिलासहित तीन हजार ५ सय ९२ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये ३ हजार ३ सय ८२ जनाको रिर्पोट आईसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भईसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजेटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।
कार्यालयकाअनुसार २९ जना महिला र १ सय ६५ जना पुरुष गरी १ सय ९४ जना क्वारेन्टाईनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाईनमा रहेका छन् ।





















प्रतिक्रिया