बिहिबार शेयर बजार तलमाथि गर्दा गर्दै अन्ततः हरियै भएर बन्द भएको छ । अल्पकालीन कारोबारीले केही बिक्री चाप बढाउँदा बजार बीचबीचमा सामान्य अंकले घटेको थियो । तर बिक्रेताको अनुपातमा क्रेता पनि उत्तिकै आउँदा सूचक फेरि सकारात्मक बनेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई रहेको छ । बजारमा पर्याप्त तरलता छ । साउन लागेपछि बैंक ब्याजदर अझै तल झर्ने विश्लेषणहरु भइरहेका छन् ।
बिहीबार शेयर बजारमा हरियो भएर बन्द भएको छ । नेप्से सूचक आज ४.५७ अंकले बढेर १३३१.१० विन्दुमा आइपुगेको छ । १७८ कम्पनीको ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २२ लाख २६ हजार २०३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वाणिज्य बैंक र व्यापारिक समूहको बाहेक सबै समूहका सूचक वृद्धि भएको छ । सूचकका आधारमा सबैभन्दा धेरै जीवन बिमा समूह ६८.३३ विन्दुले माथि लागेको छ ।
तीन कम्पनीको सेयर भाउ १०५ बढेर सकारात्मक सर्किट लागेको छ । सूर्योदय लघुवित्त, एनआइसी एसिया लघुवित्त र वोमी लघुवित्तको भाउ १०५ ले बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको १५ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।





















प्रतिक्रिया