सरकारले ३ महिना देखि रोकेको मदिराको आयातमा लगभग ५० करोड रुपैयाँ विदेशिनबाट जोगिएको छ । गत चैतबाट सरकारले विदेशि महंगाा मदिराको आयात रोकेको छ । कोभिड –१९ को कारण अर्थतन्त्र संकटमा परेको बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले उक्त निर्णय लिएको हो ।
नेपालमा वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिराको आयात हुने गर्दछ । यस हिसाबले तीन महिना मदिरा आयात रोकिदा झण्डै ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको भन्सार जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट समेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले बेलायतबाट रम र चीनबाट बियरसमेत आयात गरेको छ । यस्तै, अब्सुलुट, सिरक, स्क्रिअस जस्ता मदिरा पनि नेपालमा आउँछन् । सरकारले आयातमा प्रतिबन्ध लगाएको तीन महिनापछि बजारमा महंगा मदिराको मौज्दात रित्तिन थालेको छ । देशका विभिन्न सहरका ठूला मदिरा स्टोरहरु जोनी वाकर, अमेरिकी जेडी ह्वीस्की, सिवास रिगल जस्ता ब्राण्डका मदिरा अभाव भएको व्यवसायीहरुले बताएका छन् ।
ब्लु लेबल, रेड लेबल, डबल ब्ल्याक, जोनी वाकर, सन्स ह्वीस्की, स्की जस्ता मदिरा स्कटल्याण्डको डियाजा कम्पनीले उत्पादन गर्छ ।
यस्तै सिभास रिगल पनि स्कटल्याण्डमै बन्छ । अमेरिकी जेडी कम्पनी तथा फ्रान्सेली वाइन र ह्वीस्कीहरु पनि बजारमा पाइन छोडेको व्यवसायीहरु बताउँछन् । सरकारले विदेशी मदिरा रोक्ने निर्णय गरेपछि नेपाली उत्पादकहरुले यसबाट लाभ हुने अपेक्षा गरेका थिए । तर अहिलेसम्म यसको असर खासै नदेखिएको मदिरा वितरकहरुले बताएका छन् ।
विदेशी मदिराको मौज्दात अझै रहेको र लकडाउनका कारण स्वदेशी मदिराले बजार नपाएको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । मदिराको ठूलो कारोबार हुने देशका ठूला सहरहरुको चहलपहल ठप्प हुँदा मदिराको बिक्री खासै नभएको महासंघका जनाएको छ । नेपालमा वार्षिक औपचारिक तथा अनौपचारिक रुपमा ३० अर्ब रुपैयाँ बराबरको मदिराको कारोबार हुने अनुमान गरिएको छ ।





















प्रतिक्रिया