Logo

विचार / ब्लग

लडाई लडाउने बेलामा अनेकौं प्रलोभन र सपनाहरु देखाएर लडाई लडाएकै होईन त कमरेड ?



संघर्ष र परिवर्तनको संवहाक हजारौ हजार युवा युवतीहरुलाई राजनैतिक दलहरुले सामन्ती शोषणबाट नेपाली जनताहरुलाई मुक्ति दिलाउन जनाधिकार स्थापित गर्न आमूल परिवर्तनको दिशामा थालिएको आन्दोलनमा सहभागी मात्र गराएनन् हजारौंको संख्यामा शहादत पनि गराए अनि अंगभङ्ग, घाइते, वेपत्ता गराए भने लाखौं मानिसहरुलाई घरबार विहिन बनाए भने हजारौं हजारलाई अनाथ ।

आफ्नो राजनैतिक उद्देश्य प्राप्त भएपछि जनताको अधिकारको निमित्त किन मौन रहन्छन् । के यिनिहरुलाई शक्तिमा पुर्याउनकै निमित्त हजारौं युवाले शहादत दिएका थिए ? हजारौं बेपत्ता, हजारौं अनाथ अनि हजारौं हजार घाइते भएका थिए ? अनि समाजमा आफू अपमानित भएपनि सिद्धान्तलाई उच्च आर्दश बनाएका थिए ? अवश्य थिएनौ ।

आज हिजोको सिंगो माओवादी चिरा चिरा भएको छ । कोही भन्छन् सिद्धान्तको कारण, कोही आर्थिक हिसाब नमिलेर, कोही पद नपाएर आदी आदी यि सब भ्रमक समाचार र अड्कलवाजी हुन् र यिनै कुरा भन्न लगाइएको छ बजारमा बजारका ठेकेदारहरुद्वारा । किन फुटेको जस्तै गरे त माओवादी ? यसमा गम्भिर अध्ययन हुनु जरुरी छ ।

वास्तवमा यो फुट न कुनै सिद्धान्त न कुनै पद नमिलेर हो, न अरु कुनै कारण यो त १२ बुँदेको ग्राइण्ड डिजाईन अनुसार नै फुट गरेको जस्तो देखाउने मात्र हो । हात्तिको दाँत जस्तै देखाउने र खाने । माओवादी फुटको नाटक र १२ बुँदे सहमति यि विषय नेपाल र नेपाली राजनैतिक रुपमा गम्भिर प्रकारको षड्यन्त्र मात्र हो । आज बजारमा जतिपनि प्रकारका माओवादी पार्टी वा सिद्धान्त बोक्ने नेतृत्व छन् उनीहरुलाई सबै थाहा थियो । शान्ति प्रकृया पछिको वातावरण अनि अवस्था आउन सक्ने चुनौती ।

तत्कालिन राज्यपक्ष अनि माओवादी यो विषयमा वडो गम्भिर खालको डिजाइनको पक्षमा थियो । शान्ति प्रकृया पछि माओवादी भित्र सहिदहरुका मुद्दा, वेपत्ताका मुद्दा, घाइते, अपाङ्ग, जनमुक्ति सेना, बर्हिगमित जनमुक्ति सेनाका मुद्दाहरु, विस्तापित परिवार, राज्य पीडित, माओवादी पीडित, दमन अत्याचारको मुद्दा उठ्ने बेला थियो । अझ शान्ति प्रकृया पछि सेना भित्र भएको भ्रष्टचारको कुरा त छेक्न नसक्ने नै भैसकेको थियो ।

ढिलो चाँडो यो मुद्दाहरु कुनै न कुनै रुपमा बाहिर आउने छाट् देखिएपछि ठूलो ग्राण्ड डिजाईन मार्फत फुटाउने चालबाजी सुरु भै हाल्यो केही नेतृत्वले पहिले नै बुझेको कारण आफू चोखिन केही झुण्ड लिएर गई हाल्यो । शान्ति प्रकृया पछि पहिलो संविधान सभा अनि सरकार संचालनको क्रममा आफ्नै कार्यकर्ताको दिनहुँ जस्तो नारा जुलुसले माओवादी नेतृत्व झस्कीएकै हुन् । यि कुनै पनि मुद्दाहरु सहजै पुरा हुने खालका थिएनन् त्यसैले फुटको नाटक मञ्चन शुरु भयो अनि पारियो कार्यकर्तामा भ्रामक सोच नेतृत्वले पहिले नै बुझेको थियो यदि एकै ठाउँमा बस्यो भने पछि समस्या आउँछ , त्यसैले यि सारा मुद्दालाई चोइटा चोइटा पारेर टुक्र्याउनु पर्छ ।

अनि बनाउन थालियो फेरि जनवादी क्रान्ति पक्ष संसदवादी पक्ष, जनविद्रोह पक्ष, नया शक्ति के के हो के के । यहि माध्यमद्वारा नै सम्पूर्ण कार्यकर्ताहरु बाँडिने र सानो सानो झुण्ड हुनेमा कुनै शंका थिएन । अनि हामी कार्यकर्ता, जनतालाई चाहीँ वास्तवमै सिद्धान्तकै आधारमा, विचारकै आधारमा, अनि पक्षकै आधारमा पार्टीहरु फुट भएको हो कि जस्तो बनाईयो । बुद्धिजिवीको प्रयोग मार्फत, मिडिया मार्फत अनि अन्य प्रोपोग्राण्डा मार्फत ।

त्यही हिजोका इमान्दार कार्यकर्ताहरुलाई वेरोजगार बनाउने, विदेशीको हातमा बेचिदिने, अस्त व्यस्त बनाउने रणनीति । लडाई लडाउने बेलामा अनकौं प्रलोभन र सपनाहरु देखाए आज उनीहरुको सपना पुरा भए पश्चात बिचैमा अलपत्र पार्न खोज्दैछन् । आज जति पनि अस्तित्वमा रहेका नेतृत्व वा अस्तित्वमा नरहेका सबैले जिम्मेवारी वहन गर्नै पर्छ, कोही पनि भाग्न पाउने छैन । हाम्रो सपनाहरु फूलका गुच्छा थिएनन् अनि हाम्रो सपनाहरु ५ लाख ९ लाखको चेक पनि थिएनन् । अनि हाम्रो सपनाहरु कसैलाई महलमा कसैलाई झुपडीमा अनी कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउने पनि थिएन ।

हाम्रो सपना त वर्गिय विभेद, लैििङ्गय, क्षेत्रिय अनि आर्थिक समृद्धिको बाटो थियो कमरेड ।कि त सबै मिलेर सहिद, घाइते, अपाङ्ग, वेपत्ता परिवार, बर्हिगमित जनमुक्ति सेना, जनमुक्ती सेना सबै प्रकारका कार्यकर्ताको समस्या हल गर नत्र जनमुक्ती सेनामा बाल सैनिक प्रयोग भएको कुरा अन्तराष्ट्रिय जगतले मान्यता दिई सकेको छ, सेना भित्र भएको भ्रष्टाचारको कुरा तमाम प्रकारको मुद्दाले तिमिहरुको योजना चकनाचुर पार्ने छन् । ढिलो चाँडो हामी सबै प्रकारका पीडितले न्याय अवश्य पाउने छौं ।

आज सम्म त तिमीहरु हामीहरुलाई झुलाएर, छक्याएर मस्तले सुतिरहेको छौ अब त्यो दिन पनि याद गर, यदि हामी आफ्नो अधिकारको लागि जाग्यौं भने त्यो क्षण तिम्रो निद्रासँग घृणा शुरु हुनेछ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।