रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ ।
विद्यालयमा ढिला गरी आएको भन्दै ती विद्यार्थीमाथि शिक्षिकाले कुटपिट गरेको समाचारमा जनाइएको छ । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि कक्षा ८ मा पढ्नेसम्मका विद्यार्थी छन् ।
घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएपछि आइतबार दाङको तलसीपुरस्थिति सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।
यो समाचार आज राजधानी दैनिकले प्राथमिक्ताका साथ छापेको छ । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारीले जनाएकी छिन् ।
केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधी उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए ।




















प्रतिक्रिया