ब्रिटिस काउन्सिलले कर नतिरेको विषयमा शिक्षा मन्त्रालयले छानबिन सुरु गरेको छ । सन् १९५९ देखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिलले आइइएलटिएस (इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम) लगायतका भाषाका तयारी कक्षा सञ्चालन गरे पनि सरकारलाई कर नतिरेको विषयमा शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाले छानबिन सुरु गरेको हो ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आइइएलटिएसको कक्षा सञ्चालन गरी कर छली गरेको विषयमा छानबिन गर्न निर्देशन दिएपछि मन्त्रालयले काम सुरु गरेको हो । निर्देशनपछि मन्त्रालयको शैक्षिक परामर्श शाखाले छानबिन टोली बनाइसकेको छ । स्थलगत अध्ययनका लागि गत शुक्रबार छानबिन टोली ब्रिटिस काउन्सिल पुगेको थियो ।
संसदीय समितिले मन्त्रालयलाई पठाएको पत्रमा भनेको छ, ‘लैनचौरस्थित ब्रिटिस काउन्सिलले आइइएलटिएस परीक्षा लिन स्वीकृतिरअनुमतिविनै परीक्षार्थीसँग करोडौँ रकम असुल गरी कर छली तथा राजस्व हिनामिना गरेको भनी निवेदन दर्ता हुन अएकाले सो सम्बन्धमा छानबिन गरी सत्यतथ्य विवरण समितिमा यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको उजुरीका आधारमा समितिले छानबिनका लागि निर्देशन दिएको हो ।
परामर्श शाखा प्रमुख फटिकबहादुर केसीले टोली बनाएर ब्रिटिस काउन्सिलले कर नतिरेको विषयमा छानबिन गरिरहेको बताए । प्रमुख केसीले भने, ‘टोली एकपटक ब्रिटिस काउन्सिल गइसकेको छ, चिठी लिएर आउनु भनेर फर्काएछन्, अब चिठीसहित स्थलगत छानबिनमा टोली जाँदै छ ।’ समितिले ९ पुसमा छानबिनका लागि मन्त्रालयलाई निर्देशन दिएको थियो । नयाँ पत्रिकाबाट


















प्रतिक्रिया