Logo

पत्रपत्रिका

१२२ चिनियाँलाई दुई चाटर्ड विमानले लगे



चीनसँग सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि नेपालले अन्तराष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई औपचारिक प्रक्रियाबाटै ‘सुपुर्दगी’ गरेको छ । अन्य विदेशीलाई अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले नोटिस जारी गरेपछि मात्रै पक्राउ गर्ने र सम्बन्धित देशलाई बुझाउने गरिएको थियो । चिनियाँलाई भने प्रक्रिया मिचेर निष्कासन गरिएको हो ।

एकैपटक ठूलो संख्यामा विदेशीलाई पक्राउ गरेर बुझाइएको यो पहिलो घटना हो । नेपालमा पक्राउ परेका आफ्ना नागरिकलाई लैजान चीनले बुधबार दुईवटा चार्टर्ड विमान ल्याएको थियो । विमानमा चिनियाँ अधिकारीसँगै सुरक्षाकर्मीसमेत आएका थिए । नेपाली अधिकारीहरूले विमानमै लगेर उनीहरूलाई बुझाएका थिए । विमानमा चढाएपछि उनीहरूलाई चिनियाँ सुरक्षा अधिकारीले हत्कडी लगाएका थिए ।

नेपालले पक्राउ परेका अन्य देशका नागरिकलाई पनि निष्कासनको प्रक्रियामार्फत सम्बन्धित देशलाई बुझाउने गरेको छ । तर, अन्य विदेशीको हकमा इन्टरपोलले नोटिस जारी गरेका व्यक्तिलाई मात्र पक्राउ गरेर सम्बन्धित देशमा बुझाउने गरिएको थियो । तर, बुधबार निष्कासन गरिएका चिनियाँलाई इन्टरपोलको नोटिस थिएन भने अनुसन्धानसमेत नगरी बुझाइएको हो ।

पक्राउ परेका चिनियाँलाई निष्कासन गर्दा विमानस्थलमा समेत विशेष व्यवस्था गरिएको थियो । डिपार्चरनजिक उनीहरूलाई गाडीबाट झारेर बोर्डिङ पास दिइएको थियो । त्यहाँबाट गाडीमै हालेर विमानछेउ पुर्याइएको थियो । त्यहाँ ओरालेर ट्राभल डकुमेन्ट हेरी डिपार्चर स्ट्याम्प लगाएर विमानमा पुर्याइएको थियो । नयाँ पत्रिका

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ०३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।