संसद्को महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सरकारी पक्षका साक्षीको बकपत्र गराउने आदेश दिएको छ ।
पेसी सूचीमा चढेको मुद्दामा जिल्ला न्यायाधीश अम्मरराज पौडेलको इजलासले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक, मुचुल्कामा सही गर्ने र विधि विज्ञान प्रयोगशालाका चिकित्सकको बकपत्र गर्न आदेश दिएको हो ।
बकपत्र गराउने काम सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ हुनेछ ।
महरा पक्ष र सरकारी पक्षका वकिलले आ–आफ्ना तर्कसहितको बहस गरेपछि अदालतले फैसला सुनाउनेछ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्चले थुनामा राख्ने आदेशलाई सदर गर्दै एक महिनाभित्र फैसला गर्न आदेश दिएको थियो ।
अदालतमा सरकारी पक्षकासँगै महराका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । मुद्दाको पेसी भएकाले महरालाई पनि अदालत लगिएको थियो । नयाँ पत्रिका





















प्रतिक्रिया