सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्यो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका चार्टर्ड एकाउन्टेन्टअधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त भएका छन् । राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका अधिकारीलाई सोमबार (२४ चैत) बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको हो ।
वर्तमान अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकका गभर्नर रहँदा अधिकारी डेपुटी गभर्नर थिए । अर्थमन्त्री खतिवडासँग अधिकारीको निकै अघिदेखि विशेष निकटता रहँदै आएको जानकारहरू बताउँछन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र अर्थसचिव डा. राजन खनालको नाम सिफारिस गरेको थियो । गभर्नर सिफारिस गरिएकामध्ये अधिकारी अर्थमन्त्री खतिवडानिकट, सिवाकोटी प्रधानमन्त्री ओलीनिकट र खनाल पुष्पकमल दाहालनिकट पात्रका रुपमा राजनीतिक वृत्तमा चर्चामा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहाना विपरीत अधिकारीले गभर्नरमा बाजि मार्दा मन्त्रीपरिषदको बैठकमै अन्य मन्त्रीहरूले पनि प्रधानमन्त्रीलाई कन्भिन्स गराउन सकेको भन्दै बधाई समेत दिएका थिए ।
प्रधानमन्त्री ओलीको सुरुवात देखि नै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई नै गभर्नर बनाउने चाहाना भएपनि अन्ततः अर्थमन्त्री खतिवडाको अडानमा सहमती जनाउन बाध्य बने ।
नवनियुक्त गभर्नर अधिकारीका लागि राष्ट्र बैंक नयाँ नभएपनी पाँच वर्ष पछि कमब्याक गरेका हुन् । लगानी बोर्डको अध्यक्ष समेत रहेका अधिकारीको गभर्नर नियुक्तिमा अर्थमन्त्रीले ठूलै चर्चा चल्न थालेको छ ।
अर्थमन्त्री खतिवडा गभर्नर रहँदा डेपुटी गभर्नर रहेका अधिकारी गभर्नर हुँदा आफूलाई काम गर्न सजिलो हुने र केमिस्ट्री पनि मिल्ने भन्दै प्रधानमन्त्रीलाई कन्भिन्स गरेका खतिवडाले गभर्नर नियुक्तिमा ठूलो चलखेल भएको आर्थिक क्षेत्रका जानकारहरूको भनाइ छ ।
अर्थमन्त्रीको रूपमा पटकपटक असफल प्रमाणीत भै सकेका खतिवडाले आफ्नो साख जोगाउन र राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप देखि आर्थिक चलखेल समेत सहज हुने गरी गभर्नरमा अधिकारीको नियुक्ति गरिएको आर्थिक क्षेत्रकै जानकारहरूले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनपानलाई जानकारी दिए ।
अन्यथा लगानी बोर्डका अध्यक्ष रहेका अधिकारीलाई गभर्नर नियुक्त गर्नुको कुनै तुक नरहेको समेत उनिहरूको भनाइ छ । विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशको समग्र अर्थतन्त्र नै प्रभावित भएका बेला ‘राम्रा’ लाई भन्दा ‘हाम्रा’ लाई प्राथमिकता दिनु अस्वभाविक भएको उनिहरूको भनाइ छ ।
२६ वर्ष राष्ट्र बैंकमै बिताएका अधिकारीलाई कोरोनाका कारण ध्वस्त बनेको अर्थतन्त्रलाई लिकमा ल्याउनुपर्ने चुनौतीकसरी पार गर्न सक्नेछन् भन्ने कुरा चासोका साथ हेरिरहेको बताइन्छ ।





















प्रतिक्रिया