Logo

अर्थ

कोरोना भाइरसको प्रभाव नियन्त्रणका लागि कोकाकोलाको ८ करोड सहयोग



कोरोना भाइरस (कोभिड-१९) महामारीको फैलावट र प्रभावविरुद्ध लड्न नेपालमा कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपत्कालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका बेस्ट वर्करलाई सहयोग पु-याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

देशभर १ लाखभन्दा बढी दैनिक ज्यालादारी गर्ने कामदारलाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्यले राहत कार्यक्रम ल्याउन लागेको कम्पनीको भनाइ छ ।

कोकाकोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मी र आपत्कालीन कामदारहरूका लागि आधारभूत स्वास्थ्य सुविधा, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गर्नेसमेत जनाएको छ । त्यस्तै, तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको कम्पनीको भनाइ छ ।

कम्पनीले आपत्कालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न तथा आवश्यक राहत सामग्रीहरू प्रदान गर्दै सहयोग गरेको जनाएको छ । कोकाकोलाले समुदायहरूलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु-याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रिएसनसँग साझेदारी गरेको जनाएको छ । कोकाकोला कम्पनी र बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरूको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

‘यो अशान्तिका बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ,’ कोकाकोला अप्रेसनका भाइस प्रेसिडेन्ट सन्दीप बजोरियाले भने, ‘महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ, जसले हामी विश्वभरका समुदाय र मानिसहरूमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ ।’ नेपालमा आफ्ना पार्टनरहरूका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।