बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफूमाथि अनावश्यक लाञ्छना लगाउँदै आफ्नो चरीत्र हत्या गर्न खोजेको बताएका छन् ।
शुक्रबार बिहान केही विद्युतिय सञ्चारमाध्यमले बिरगञ्ज महानगरपालिकाका मेयर सरावगीले राहत वितरणमा कुहिएको चामल वितरण गरेपछि मेयर सरावगीको घरमा प्रहरीले छापा मारेको समाचार प्रकाशन गरेका थिए ।
अनलाइनपाना सँगको कुराकानीमा मेयर सरावगीले राहत वितरणमा आफ्नो कुनै भूमिका नहुने जनाउँदै राहत वितरणको सम्पूर्ण जिम्मेवारी ३२ वटै वडाका वडा अध्यक्षको भएको भन्दै त्यसमा आफूलाई मुछिएकोमा खेद व्यक्त गरे ।
कुहिएको चामल वितरण गरिएको भनिएको वडा नम्बर १४ मा गुणस्तरहीन चामल वितरण हुन नसक्ने जिकिर गर्दै मेयर सरावगीले ‘यदि त्यस्तो हुन्थ्यो भने बाँकी ३१ वटा वडामा किन कुनै समस्या देखिएन ?’ भन्ने प्रश्न समेत गरे । ‘केही व्यक्तिहरूले आफ्नो चरित्र हत्या गर्न यस्तो घटना घटाइएको हुन सक्ने’ मेयर सरावगीको आशंका छ ।
यता जिल्ला प्रहरी कार्यलय पर्साले पनि मेयर सरावगीको घरमा कुनै किसिमको छापा मारिएको तथा खानतलासी गरिएको कुरामा कुनै सत्यता नरहेकोको स्पष्ट पारेको छ ।
बिरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राहत वितरणका क्रममा कुहिएको डल्लो परेको चामल वितरण गरिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएपनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन् ।





















प्रतिक्रिया