Logo

प्रदेश

अहिलेसम्म राष्ट्रघात पहाडी समुदाय बाटै भएको छ: जसपा युवा नेता श्रेष्ठ



जनता समाजवादी पार्टीको युवा संगठनका धनुषा जिल्ला अध्यक्ष सुनिल श्रेष्ठले अहिलेसम्म राष्ट्रघात पहाडी समुदाय बाटै भएको टिप्पणी गरेका छन् ।

अहिलेसम्म देशको कार्यकारी प्रमुखको पदमा कुनै मधेसी नपुगेको बताउँदै नेता श्रेष्ठले राष्ट्रियताको कुरा गर्दा हरेकपटक मधेसी समुदायले आफ्नो राष्ट्रियताको प्रमाण दिनुपरेको भन्दै आक्रोश व्यक्त गर्दै अहिलेसम्म राष्ट्रघात गर्नेहरू पहाडे राष्ट्रवादको खोलमा ‘मौसमी राष्ट्रवाद’को खेती गरिरहेकाहरू नै गरेको समेत उनको आरोप छ ।

अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि ‘मौसमी राष्ट्रवाद’ कै कारण भारतको हातमा पुगेको उनको टिप्पणी छ । २०५३ सालमा संसदबाट महाकाली सन्धि पारित गर्दा महाकालीको मुहानको विवाद हल गरेको भए अहिले राष्ट्रवादको कुनै खेती गर्नुनपर्ने समेत उनको भनाइ छ ।

मौसमी राष्ट्रवादको खेल पछिल्लो समय राजनीतिमा मात्रै नभएर खेलकुदमा पनि प्रवेश गरेको भन्दै युवा नेता श्रेष्ठले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसी जनतामा राष्ट्रियताको भावना कम भएको विवादास्पद टिप्पणीको आलोचना गर्दै मधेसीको राष्ट्रियताको ट्रेडमार्क के हो ? त्यो बताउन र आफूहरूलाई सिकाउन समेत उनले चुनौती दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको नयाँ नक्सा सार्वजनिक गरेर वाहीवाही लुटिरहेको वर्तमान सरकारले धनुषा सहित देशभरका अन्यअतिक्रमित ठाउँको बारेमा भने मौन बसेको उनको आरोप छ । भारतीयको लाठी र गोली खाएर सीमाको रक्षा गर्ने मधेसी समुदायको अपमान नगर्न समेत उनले चेतावनी दिए ।

एन्फा अध्यक्ष शेर्पाले एक अन्तरवार्तामा तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकोले उनिहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १८:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।