प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद तथा नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारकी श्रममन्त्री डा. डिला संग्रौला पन्तले श्रममन्त्री रामेश्वर राय यादवलाई विगतमा बाँदर धपाउने काममा दुरुपयोग भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बेरोजगार बनेकालाई रोजगारी दिन सक्छ भन्ने प्रश्न गरेकी थिइन् ।
विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिएपछि श्रममन्त्री रायलाई पुरक प्रश्न गर्दै उनले देशभित्रका बेरोजगार र विदेशमा काम गुमाएका ४० लाख युवालाई रोजगारी दिनुपर्ने आवश्यकता भएको कुरा मन्त्रीलाई स्मरण गराएकी थिइन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ८ लाख नेपालीलाई रोजगारी दिने कुरा मन्त्रीज्युले गर्नुभयो । लकडाउनका कारण देशभित्रका उद्योग कल कारखाना बन्द छन् । नेपालमा बेरोजगारको लामो लाइन छ । स्वदेशका बेरोजगार सहित विदेशबाट फर्किएका ४० लाखलाई रोजगारी दिनुपर्ने छ । बाँदर धपाउने र खेतबारीको घाँस उखल्ने तथा बेल्चाले मकै गोड्ने जस्ता काममा प्रयोग गरेर अनियमितता भएको गरेको यो कार्यक्रमले समग्र बेरोजगारलाई रोजगारी दिन सक्छ ? सांसद संग्रौलाले प्रश्न गरिन् ।
जवाफमा मन्त्री रायले विगतमा बाँदर धपाउने र घाँस उखेल्ने / काट्ने काममा दुरुपयोग भएको आरोप लागेपनि त्यो पूर्ण सत्य नभएको दाबी गर्दै ‘विगतमा सुरुवाती दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाँदर धपाउने, घाँस उखेल्ने काट्ने काम गरेको नसुनिएको होइन । त्यतिखेर पनि कतिपयले शौखले कोही बाँदर धपाउन गएको होला । व्यक्तिगत कुरालाई राष्ट्रिय निति बनाउन मिल्दैन ।’ भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारलाई रोजगार दिन सक्ने गरी कार्यक्रम आएको जिकिर गरेका थिए ।





















प्रतिक्रिया