भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो ।
एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन् । ‘यसअघि कोभिड १९ र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए । यसमा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा दिन नसकिने बैंकहरुले बताएका छन् ।
कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ । कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ । बैंकहरु आबद्ध नेटवर्कअनुसार शुल्क फरक फरक हुने गरेको छ ।
सामान्यतः बैंकहरुले २० देखि २५ रुपैयाँसम्म यस्तो शुल्क लिने गरेका छन् । बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मा आवद्ध छन् । केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा पनि छन् । फरक नेटवर्कमा आबद्ध बैंकको कार्ड र एटिएम प्रयोग भएमा साढे २ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ ।





















प्रतिक्रिया