Logo

राजनीति

नयाँ सरकार बनाउन देउवाले देखाए सक्रियता जसपालाई बोलाए बूढानीलकण्ठ



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागेको  जानकारी दिए । देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्ने भएका छन् । त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ । वर्तमान ओली सरकार टिकाउन वा विस्थापित गर्न जसपा निर्णायक भनेका बेला देउवाले ओली सरकार विस्थापनका लागि अग्रसरता बढाएको बूढानीलकण्ठ स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोजेका बेला नयाँ सरकार बनाउन देउवाले पनि सहकार्यको हात फिँजाएको बुझिएको छ ।

विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् । काँग्रेस सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए ओली सरकार विस्थापित गरेर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने पक्षमा देखिएको छ ।

अहिलेसम्म नयाँ सरकार निर्माणमा मौन देखिएका देउवा सक्रिय हुन थालेको छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए । सत्ता सहकार्यबारे जसपाले ओली र देउवा–दाहालसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।