Logo

प्रमुख समाचार

सभामुख सापकोटा एमालेसँग वार्ता गर्न तयार



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गराउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा संसद् चलाउनका लागि संवादको विकल्प नभएको स्पष्ट पार्दै सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन् ।

उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने आग्रह गरे ।

उनले भने, ‘दशैँको सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निष्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ ।’

उनले संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेरै कार्य सम्पादन गर्नु आफ्नो कर्तव्य भएको पनि जिकिर गरे । उनले जतिसुकै ठूलो समस्या भए पनि समन्वय, सहकार्य र समझदारी गनुपर्नेमा जोड दिए । उनले कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्ने र त्यसबाट अवरुद्ध संसद् चल्ने आशा व्यक्त गरे।

सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह हुन्छन्‚ प्रतिशोध सोच्न पनि सकिँदैन। सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोच विकास हुनेछ ।’

प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार  ३ : २६ बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।