Logo

पत्रपत्रिका

कांग्रेसमा निर्वाचनको माहोल तात्यो, वडामा खटिए मतदान अधिकृत



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्वाचनको महोल तात्तेको छ। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता, कार्यकर्ताहरु भोट माग्न क्रियाशील सदस्यका घर घरमा पुगिरहेका छन्। बाँकेमा आइतबार ८१ वटै वडामा निर्वाचन सम्पन्न हुँदैछ। उक्त निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार नै खटाइएको छ।

निर्वाचन सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा खटाइएको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए। ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखीकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले नागरिकसँग भने।

निर्वाचन सामग्री हस्तान्तरण गर्नुअघि अभिमुखीकरण गरिएको थियो। अभिमुखीकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए। अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठुलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको बताए ।

‘पार्टीको निर्वाचन सम्पन्न गर्न तपाईहरु वडा–वडामा खटिदै हुनुहुन्छ, तपाईमाथी ठूलो जिम्मेवारी छ, त्यसकारण निश्पक्ष र विवाद रहित ढंगले चुनाव सम्पन्न गराउनु होला,’ उनले भने। समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिसकेपछि तटस्थ भूमिका खेल्नुपर्ने बताए।

‘तपाईहरुले निर्वाचन सम्पन्न गर्दासम्म आफूलाई पार्टीभन्दा बाहिर राखेर काम गर्नुस्, तपाईहरुलाई कुनैपनि खालको आरोप र समस्या आउँदैन,’ उनले भने, ‘तपाईको निश्पक्षतामाथी प्रश्न उठ्नु भनेको सिंगो शिक्षक संघ नै बद्नाम हुनु हो, यसमा विशेष ध्यान दिनुहोला।’ निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुने समितिले जनाएको छ।

बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १०:०५   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।