काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् ।
प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताएका हुन् ।
खुशीयाली सभालाई सम्बोधन गर्दे उनले भने–“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो ।”, अध्यक्ष यादवले– “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए ।
मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दै उनले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गरे ।
सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौँदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताइन् ।उनले “मधेश आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेश प्रदेश स्थापना भएको बताउँदै हामीले मधेश प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेश आन्दोलन र सहिदप्रति सम्मान भएको छ” उनले भनिन् ।
मधेश आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेत्रीसमेत रहनुभएका मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरीन् ।





















प्रतिक्रिया