Logo

पत्रपत्रिका

धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी



काठमाडौं । रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको छ ।

यसै क्रममा चालू आर्थिक वर्षमा अहिलेसम्म ७५ करोड ४५ लाख रुपियाँ रोयल्टी शीर्षकमा प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

​ सोही प्रयोजनका लागि १४ करोड २० लाख रुपियाँ बैङ्क जमानत प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।

क्यासिनो सञ्चालकहरूबाट ठूलो मात्रामा बक्यौता रहेपछि मन्त्रालयले माघ २६ गतेको मन्त्री स्तरीय निर्णयबाट कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उक्त प्रक्रियापछि क्यासिनो सञ्चालकहरू बाँकी बक्यौताका लागि मन्त्रालय सम्पर्कमा आउने क्रम बढेको उल्लेख गरिएको छ ।

त्यसैअनुसार सोमबार मात्रै सेन्ट्रल मिडिया प्रालिको चार करोड रुपियाँको बैङ्क भौचर प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

कानुनअनुसार तिर्नु बुझाउनुपर्ने रोयल्टी शीर्षकको राजस्व नबुझाउने क्यासिनो सञ्चालक कम्पनीहरूलाई बाँकी बक्यौता बुझाउन ताकेता गर्ने र आवश्यकताअनुसार कारबाही गर्ने क्रम जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ सम्म क्यासिनो सञ्चालक कम्पनीहरूले ८४ करोड ८४ लाख ४७ हजार ८४८ रुपियाँ रोयल्टी शीर्षकमा बुझाउन बाँकी थियो । त्यस्तै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा एक अर्ब ९० करोड ९९ लाख ५५ हजार लगत कसिएको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०७:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।