Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवाको प्रस्तावमा केपी ओलीले के भने ?



प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । एमसीसी परियोजना अनुमोदन गर्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीचमै तीव्र मतभेद भइरहेको समयमा प्रधानमन्त्री देउवाले ओलीसामू सहकार्यको प्रस्ताव राखेका हुन् ।

जसरी पनि फागुन १६ गतेभित्र एमसीसी संसदबाट पारित गराउनुपर्ने अडानसहित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको सक्रियता बडेको छ ।

उनले निरन्तर रुपमा सत्ता गठबन्धनमा रहेका दलहरु र नेकपा एमालेलगायत प्रतिपक्षी दलहरुसँग पनि संवाद गरिरहेका छन् । गठबन्धनमा रहेका दलहरुले नै सहयोग गर्ने परिस्थिति नदेखेका देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत दलसँगको संवादलाई अघि बढाएका हुन् ।

बिहीबार बालुवाटारमा गठबन्धन दलहरुबीच छलफल गरेका देउवा सोझै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका थिए । पत्नी आरजु राणालाई समेत साथमा लिएर बालकोट गएका प्रधानमन्त्री देउवाले त्यहाँ डेढघन्टा लामो छलफल गरेका थिए।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट अनुमोदन गराउनका लागि सहयोग गर्न एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।

बिहीबारको भेटमा पनि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई एमसीसीलगायत विषयमा सहकार्य गरेर जानुपर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री देउवा अहिले गठबन्धनबाट नै अप्ठ्यारोमा रहेकाले उनले एमाले अध्यक्ष ओलीलाई भेटेरै सहयोग मागेका हुन् ।

प्रधानमन्त्रीले सहकार्य गरेर जाउँ भन्ने प्रस्ताव राखेको तर, अध्यक्ष ओलीले आफ्नो प्रष्ट अडान र धारणा स्पष्ट रुपमा राखिएको एक नेताले बताए । बिहीबारको भेटमा पार्टी अध्यक्ष ओलीले गठबन्धनसँगको सम्बन्ध टुंगो नलागेसम्म कुनै सहकार्य नहुने प्रष्ट पारेका थिए।

ओलीले कांग्रेससँग सहकार्य गरेर जाने विषयमा एमालेलाई समस्या नहरेको भन्दै पहिले गठबन्धनका विषयमा निर्णय गर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले पनि आफूले सकेसम्म सहमति कायम गराउन प्रयास गरेको भन्दै हुँदै नभए त्यसपछिको परिस्थिति बेग्लै हुने जवाफ दिएका थिए।

प्रधानमन्त्रीले पार्टी अध्यक्षसँगको भेटमा सहयोगका लागि आग्रह गरेको र जवाफमा अध्यक्षले गठबन्धनको सम्बन्ध के हो भन्ने प्रष्ट नभएसम्म एमालेले सहयोग गर्न नसक्ने जवाफ दिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १५:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।